स्वयम् उपस्थित भएर जवाफ दिन निलम्वित कार्कीलाई सर्वोच्चको आदेश

  ०७३ कात्तिक २३ गते

सर्वोच्च अदालतको कात्तिक २३ गतेको इजलासले म्याद तामेलीमा अवरोध गरेको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीसहित चार जनालाई अदालतमा स्वयम् उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतको म्याद बुझन नमानेको र अवरोध गरेको भन्दै कार्कीसहित चारजनाविरुद्ध कारबाही गर्न माग गर्दै दायर गरेको उजुरी उपर पहिलो आदेश गर्दै सर्वोच्चले कार्कीसहित उनका ज्वाँई प्रवल थापा, पूर्व कानुन सचिव प्रमोद कार्की र नेपाल प्रहरीका सई नकुलराज गौतमलाई अदालतमा आफै उपस्थित भई लिखित जवाफ दिन भनेको हो ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सो आदेश सुनाएको हो । आदेशमा सजाय नगर्नू पर्ने कुनै आधार र कारण भए सात दिनभित्र आफै उपस्थित भई लिखित जवाफ पेश गर्नु भनी उजुरीमा विपक्षी बनाइएका व्यक्तिहरुमाथि निवेदनको प्रतिलिपिसहित म्याद सूचना तत्काल जारी गर्नु भनिएको अधिवक्ता अर्यालले जानकारी दिए ।


विवेक ढुङ्गाना