स्वच्छ निर्वाचनका लागि राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकले भूमिका खेल्नुपर्नेमा जोड

  ०७४ असार ९ गते

स्वच्छ, निष्पक्ष र भयरहित बाताबरणमा निर्वाचन सम्पन्न गर्न राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकलगायत सङ्घसंस्थाले भूमिका खेल्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले जोड दिएका छन् ।

नेपाल कानुन पत्रकार समाज बाँकेद्वारा असार ९ गते आयोजित सरोकारवाला निकायको भूमिका विषयक अर्न्तक्रिया कार्यक्रममा प्रजिअ पन्थले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि जिल्लामा विशेष सुरक्षा योजना लागु गरिएको जानकारी दिँदै आयोग र इन्सेकलाई भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन् । उनले आम मतदातालाई ढुक्क भएर मतदानमा सरिक हुन मतदातालाई आग्रह गरे ।

उनले अवाञ्छित क्रियाकलाप गर्दा प्रशासनले बल प्रयोग गर्नुपरेको खण्डमा निर्वाचनमा खटिएका कर्मचारीहरूको मनोबल बढाउनसमेत आयोग र इन्सेकलगायत सङ्घसंस्थाले भूमिका खेल्नुपर्ने बताएका थिए ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नका लागि इमान्दारीपूर्वक उत्साहका साथ लागिपरेको बताए ।

जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै मतदातालाई शत प्रतिशत सुरक्षा दिन प्रहरी तयार रहेको बताए । प्रहरीलाई उत्साहित बनाएर कार्यक्षेत्रमा खटाइएको भन्दै राईले राजनीतिक पार्टीको बिचमा हुने लडाई झगडाले सुरक्षा चुनौती निम्त्याउने भएकाले स्वस्थ प्रतिस्पर्धामा उत्रन राजनीतिक दलहरूलाई आग्रह गरिएको बताए ।

क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले निर्वाचनका सम्बन्धमा हटलाईन प्रभावकारी भएको बताउँदै सूचना आदानप्रदानले स्वच्छ निर्वाचन गर्नमा सघाउ पुर्‍याउने भन्दै आफैँले पालना गर्छौँ भनी राजनीतिक दलहरूले सहमति जनाएको आचारसंहिता सबैले पालना गर्नु पर्नेमा जोड दिए ।

इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले पार्टी पार्टी बिचको द्वन्द्वले स्वच्छ निर्वाचनमा बाधा पुर्‍याउन सक्ने भएकाले दलहरूबिच हुन सक्ने सम्भावित झडपका घटना रोक्न प्रहरी प्रशासन समयमै चनाखो बन्नु पर्नेमा जोड दिए ।


विनोद पाण्डे