स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको कार्यक्रम सम्पन्न

  ०७४ भदौ ३० गते

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको कार्यक्रम भदौ २९ गते जनकपुरको रामा होटलमा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अध्यक्ष सुबोधराज प्याकुरेल र नेपाल मानवअधिकार संगठनका अध्यक्ष इन्द्र प्रसाद आर्यालको उपस्थितिमा निर्वाचन आचारसंहिताको सवालमा छलफल गरियो । उपस्थित सहभागिहरूले धनुषामा व्यापक आचारसंहिता उल्लंघन भएको बताएका छन् ।

राजनीतिक दलहरूले बालबालिकाहरूलाई चुनाव प्रचारप्रसार र पर्चा पम्पलेटहरू टाँस्नको लागि प्रयोग गरेको, भारतीय गाडी प्रयोग, चुनाव चिन्ह अङ्कित भेष्ट, टोपी, गम्छा र ठूल्ठूला रङ्गिन फोटो सहित व्यानर, झण्डा उम्मेदवारहरूले प्रयोग गरेको पाइएको छलफलमा सहभागिहरूले बताएका छन् ।

त्यस्तै सरकारले पनि आचारसंहिता उल्लङ्घन गरेको पाएको छ । बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा, कृषिमन्त्री रामकृष्ण यादव, खानेपानी मन्त्री महेन्द्र यादवलगायतका सरकारका प्रतिनिधिहरूले आफ्नो पक्षका उमेदवारलाई जिताउनको लागि चुनावी सभामा भाषण गरेको पत्रकार सुभाष कर्णले बताए ।

निर्वाचन हुनुभन्दा ५ दिन पहिलेदेखि विद्यालय बन्द गरिनु, विद्यालयहरूमा प्रहरी र सशस्त्र प्रहरी राखिनुका कारण सरकार पक्षबाट पनि आचारसंहिताको उल्लङ्घन भएको शिक्षा पत्रकार समूह जिल्ला संयोजक दिपेन्द्र सिंहले बताए ।

बालबालिकाहरूको शरीरमा चुनाव चिन्ह अङ्कित पेण्टिङ, उम्मेदवारहरूको घरमा मतदाता रिझाउन भोज र ठूलो स्वरमा साउण्ड बक्स बजाएर ध्वनी प्रदुषण बढाएको र एक जना उम्मेदवारले एक भन्दा बढि गाडी र सयौँ मोटरसाइकल प्रयोग गरी आचारसंहिता धजिया उठाएको मानव अधिकारकर्मी उर्मिला यादवले बताइन् ।

निर्वाचन आचारसंहिता नै दोहोरो अर्थ लाग्ने खालको बनाएको र एक उम्मेदवारले एक हल्का गाडी प्रयोग गर्ने भनिएकोमा हल्का गाडी कस्तो गाडीलाइ भन्ने कुरामा अधिवक्ताहरू नै अलमलमा परेको अधिवक्ता अरूण यादवले बताए ।

आचारसंहिता अव्यवहारिक र कडा भएकोले राजनीतिज्ञहरूलाई पालना गर्न अफठ्यारो भएको नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष मेघनाथ यादवले बताए । सरकारले विद्यालय प्रयोग, प्रहरीले भारतीय गाडी प्रयोग गर्नु भनेको सरकारसँग श्रोत साधनको कमी भएकोले बाध्यता भएकोले आचारसंहिताको उल्लङ्घन भएको पाएको शिक्षक यादवले बताए ।

निर्वाचन आयोगको प्रभावकारी अनुगमन नभएको, विना तालिम कर्मचारीहरूलाई चुनावमा खटाएको गुनासो आएको सहभागिहरूले बताए ।

निर्वाचनमा तयार पारेको घोषणा पत्रअनुसार उम्मेवारहरूलाई मतदाताले आफ्नो मत दिने कुरामा राजनीतिक दलका नेता तथा कार्यकर्ता आफैँ विश्वस्त नरहेको नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद आर्यालले बताए ।

दुई नम्बर प्रदेशमा सबैभन्दा बढि आचारसंहिता उल्लङ्घन भएको पाइएको इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले बताए ।

२००३ सालदेखि विभिन्न पार्टीमा लागेकाहरू रातारात दल परिवर्तन गरी आजसम्म एउटा पार्टीमा रहेका नेता भोलि बिहान अर्को दलबाट उम्मेदवार भएकोमा आफू आश्चर्यचकित भएको अध्यक्ष प्याकुरेलले बताए ।  विचारको राजनीति भन्दा जातीय रोग लागेको समेत उनको भनाई छ ।


विनोदकुमार रविदास