स्वच्छ खानेपानी नपाएको उपभोक्ताको गुनासो

  ०७६ भदौ २१ गते

संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही धाराको उपधारामा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको पहुँचको हक हुनेछ भनी उल्लेख गरिएको छ ।

तर, सिद्धिचरण नगरपालिका–११ र १२ का उपभोक्ताहरूको स्वच्छ खानेपानी नपाएको गुनासो छ । सदरमुकाम बजारक्षेत्रमा वितरण गरिएको खानेपानी पानी प्रदुषित आउने गरेको उपभोक्ताको गुनासो छ ।

ओखलढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको लापरवाहीका कारण दुषित पानी खानु परेको उपभोक्ताहरूको भनाई छ ।

समितिले पानी सङ्कलन गर्ने ट्याङ्कीको सरसफाई गर्ने तथा मुहानबाट पानी शुद्धिकरण गरेर मात्रै वितरण गर्ने लगायतका काम नगर्दा उपभोक्ताले प्रदुषित खानेपानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय उपभोक्ता सञ्जय खत्रीले बताए ।

अर्का उपभोक्ता तिलक श्रेष्ठका अनुसार मुहान तथा पानी सङ्कलन गर्ने ट्याङ्की फोहोर भएकै कारण पानी आउँदा फोहोर आउने र धेरैजसो पानी अभाव भएपनि उपभोक्ता समितिले चासो दिएको छैन ।

उनले भने–‘बल्ल–बल्ल पानी आउँछ । त्यो पनि दुषित, धेरै समय पानीको अभाव हुन्छ, पानी खान पाउने अधिकारबाट समितिले वञ्चित गराएको छ ।’

स्वच्छ खानेपानी पाउने अधिकार हनन् गरेको उनको आरोप छ । उनीहरूले खानेपानी तथा सरसफाई उपभोक्ता समिति र सिद्धिचरण नगरपालिकामा समेत उजुरी गरेका छन् ।

नगरपालिकाले उजुरी सुनुवाइ नगरेको उनीहरूको भनाई छ । सिद्धिचरणका मेयर मोहन श्रेष्ठले उपभोक्ताका समस्या समाधानको पाटो उपभोक्ता समितिको रहेकाले समिति जिम्मेवार हुनु पर्ने बताए । समितिले काम गर्न नसके नगरपालिकाले हस्तक्षेप गरेर खानेपानीको व्यवस्थापन गर्न बाध्य हुने श्रेष्ठको भनाई छ ।

समितिले बजार क्षेत्रका एक हजार जना उपभोक्तालाई आलोपालो पानी वितरण गर्दै आएको छ । पानीको अभाव हुने भएकाले पानी वितरणको तालिका भएको क्षेत्र बाहेक अन्यत्र लोडसेडिङ गरेर वितरण गर्नु परेको ओखलढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णकुमार श्रेष्ठले बताए ।

उनले खानेपानीको समस्या विगतमा जस्तो नरहेको बताए । श्रेष्ठले पानी पिउन योग्य रहेको दावी गरे पनि धारामा आउने पानीमा चेपागाँडा समेत आउने गरेको उपभोक्ता चमेली मगरले बताइन् ।

पानीको ट्याङ्की फोहोर भएपछि वितरण गरिएको पानीमा फोहोर मिसिएर आएको उपभोक्ताको गुनासो छ ।

फोहोर पानीका कारण उपभोक्तामा पानीजन्य रोग समेत देखिएको सिद्धिचरण नपा– १२ का कमल नेपालीले बताए ।

बालबालिका र ज्येष्ठ नागरिकहरूमा पखाला लाग्ने, जुका पर्ने, पेट दुख्नेजस्ता समस्या देखिनु फोहोर पानीको कारण भएको उनको भनाई छ ।

पानीजन्य रोगका बिरामी सामुदायिक अस्पताल ओखलढुङ्गामा धेरै आउने गरेको अस्पतालका तथ्याङ्क अधिकृत फणिन्द्र दानीले बताए ।

उनले बजार र आसपासका धेरै बिरामी सामान्य रोगमा समेत उपचार गराउन अस्पताल आउने र उनीहरूमध्ये धेरैमा पेट दुख्ने, खाना अपच हुने, पखाला लाग्ने, जुका देखिनेजस्ता पानीजन्य रोग लाग्ने गरेको दानीले बताए । दैनिक अस्पतालमा आउने बिरामीमध्ये १० प्रतिशत पानीजन्य रोगका बिरामी हुने दानीको भनाई छ ।

उपभोक्ताको गुनासो सम्बोधन गर्न समितिकोे बैठक बसेर छलफल गर्ने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।

पानीको परीक्षण नगरी फोहोर हो, होइन, एकीन नहुने उनको भनाई छ । गुनासो आएकाले पानीका मुहान तथा ट्याङ्की भने सफा राख्न सरसफाई गरिने श्रेष्ठले बताए ।


शिवप्रसाद ढुङ्गाना