स्थानीय सरकारसँग बर्थिङ सेन्टर माग

  ०७६ जेठ २६ गते

जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँकी विसुदा बुढा गत वर्ष ३ घण्टा टाढा पैदल दुरीमा रहेको हाँडसिञ्जा बर्थिङ सेन्टरमा प्रसूतिका लागि लैजाँदालैजाँदै बाटोमै सुत्केरी भइन् ।

नजिकै बर्थिङ सेन्टर अर्थात प्रसूति गृह नभएका कारण बोकेर टाढा लैजाँदालैजाँदै बाटोमै सुत्केरी भएकी हुन् । त्यसैगरी दुई वर्ष अघि सोही गाउँकी रामा बुढा सुत्केरी हुन नसकेर घरमै मृत्यु भयो ।

सुत्केरी गराउने दक्ष जनशक्ति र प्रसूति गृह नजिक नभएका कारण टाढाको प्रसूति गृहमा लैजाँदालैजाँदै बाटोमै सुत्केरी हुने र सुत्केरी हुन नसकेर घरमै मृत्यु हुने गरेको स्थानीय विन बुढाले बताए ।

उनले भने–‘यहाँ सडक यातातातको पहुँच छैन । सुत्केरी गराउनका लागि बोकेर लैजानु पर्ने बाध्यता छ ।’

अहिले भर्खर कच्ची सडक गाउँमा पुगेको छ । यही पनि वर्षा सिजनमा बन्द हुन्छ । यहाँका स्थानीयलाई सुत्केरी हुने महिलाको ज्यान जोगाउन निकै गार्‍हो हुने गरेको छ ।

यहाँको गर्भवती महिलाको सहजताका लागि पहिलादेखि नै बर्थिङ सेन्टरको माग राख्दै आएपनि सुनुवाइ नभएको बुढाको गुनासो रहेको छ । ‘अहिलेको स्थानीय सरकारसँग पनि माग गरेका थियौँ दुईवर्ष बित्यो सुनुवाइ भएको छैन ।’–उनले भने ।

सुडेनी अर्थात स्वयम्सेविकाले गराउँछन् सुत्केरी

यहाँका गर्भवती महिला घरमै सुत्केरी हुने गरेका छन् । गर्भावस्थामा चेकजाँच पनि गराउने गरेका छैनन् । अधिकांश गर्भवती महिला घरमै सोडेली अर्थात महिला स्वयम्सेविकाको भरमा सुत्केरी हुने गरेका छन् ।

घरमा सुत्केरी हुन नसकेका भर्गवती महिलालाई मात्र बाध्यताले बोकेरै भएपनि ३ घण्टा टाढा दुरीमा रहेको हाँडसिञ्जा बर्थिङ सेन्टरमा लिने गरेको स्थानीय विन बुढाले बताए ।

कनकासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष मनविर बुढाका अनुसार यसै चालु आर्थिक वर्षको असार मसान्तभित्र बर्थिङ सेन्टर स्थापना गरी सेवा विस्तार गर्ने तयारी भइरहेको छ ।

उनले भने–‘बर्थिङ सेन्टरमा चाहिने आवश्यक सामग्रीका लागि गाउँपालिकाले २ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।’ आवश्यक सामग्री खरिद प्रक्रियामा रहेको उनको भनाई छ ।

कनकासुन्दरी गाउँपालिकाका–८ वडामा चार ओटा स्वास्थ्य चौकी र तीन ओटा मात्र बर्थिङ सेन्टर रहेका छन् । यस गाउँपालिकामा १२ हजार ९ सय ७७ जनसङ्ख्या रहेको छ ।


मानदत्त रावल