स्थानीय सरकारको वडा कार्यालयमा प्रतिबन्धित नेकपाको पेन्टिङ

  ०७६ मङ्सिर २८ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले दार्चुलामा पछिल्लो समय गतिविधि बढाएको छ ।

नेपाल प्रहरीले विप्लव नेतृत्वका अखिल क्रान्तिकारीका आठ जना विद्यार्थी गिरफ्तार गरेपछि विप्लवका कार्यकर्ताले स्थानीय सरकारका वडा कार्यालयमा आफ्नो पार्टीको साइनबोर्ड लगाउन थालेका छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा राखेपछि विरोध गर्न दार्चुला पुगेका विप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

विद्यार्थी गिरफ्तार गरेपछि विप्लव कार्यकर्ताले लेकम गाउँपालिकाको वडा नम्बर १ र शैल्यशिखर नगरपालिकाको वडा नम्बर ४ को वडा कार्यालयको साइन बोर्डमा नेकपा विप्लव कार्यालय लेखेको हो ।

मङ्सिर २४ गते शैल्यशिखर नगरपालिकाको वडा नम्बर ४ रानिशिखर स्थित वडा कार्यालयको बोर्डमा नेकपा विप्लव लेख्नुको साथै ढोकामा रातो कपडामा डब्बा राखेको भेटिएको रानिशिखरका स्थानीय महादेव ठगुन्नाले जानकारी दिनुभयो ।

राति नै वडा कार्यालयको बोर्डमा लेख्नुको साथै रातो कपडामा बम जस्तो डिब्बा राखेको पाइएको हो । बिहान १० बजे कर्मचारी कार्यालय पुग्दा विप्लव लेखिएको र बम जस्तो वस्तु फेला परेको उहाँले बताउनुभयो ।

कर्मचारीले कार्यालयमा त्रसाउने गरी सामाग्री राखेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालयमा गोकुलेश्वरबाट गएको टोलीले बोर्ड मेटाउनुको साथै तुललाई हटाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

‘त्रसाउने गरी गतिविधि गरेको पाइएको छ ।’–उहाँले भन्नुभयो –‘बम होइन । खाली डब्बामा रातो तुल बेरेको रहेछ ।’

तर्साउन ढोकामा राखिएको सामग्रीको कारण वडा कार्यालय दिउँसो १ बजेबाट मात्रै सुचारू भएको थियो ।

यसअघि गत मङ्सिर १८ गते राति लेकम गाउँपालिका–१ सर्मौलीको वडा कार्यालयमा समेत विप्लवले आफ्नो कार्यालय लेखेको थियो भने वडा कार्यालयको साइनबोर्डमा हँसिया र हथौडाको चिन्ह समेत बनाएको छ ।

पछिल्लो जिल्लाको इञ्चार्ज आकाश र सेक्रेटरीमा लक्ष्मण शाही रहने गरी जिम्मेवारी बाँडफाँड गरेसँगै जिल्लामा विप्लवले गतिविधि बढाएको छ ।

photo20191212darchula1

photo20191212darchula2


नरेन्द्रसिंह कार्की