स्थानीय सरकारका कारण विस्थापित हुनु पर्ने अवस्था आएको मुक्त कमैयाको आरोप

  ०७६ मङ्सिर १८ गते

स्थानीय सरकारले भौतीक संरचना निर्माण कार्य सुरू गरेदेखि आफूहरू विस्थापित हुनु परेको धनगढी उपमहानगरपालिका–८ धनगढीका १० घर मुक्त कमैयाहरूको अरोप छ ।

धनगढी उपमहानगरपालिका–८ स्थित धनगढी गाउँमा ०६२ सालदेखि १० घर मुक्त कमैयाहरू घर निर्माण गरी भोगलचन गर्दै आएको जग्गामा धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयले नगर स्वास्थ्य भवन निर्माण कार्य सुरू गरेपछि आफूहरू विस्थापित हुनु पर्ने अवस्था आएको मुक्त कमैयाहरूले बताउनु भयो ।

स्थानीय मुक्त कमैया बजारी चौधरीले सरकारले मुक्त घोषणा गरिसकेपछि पनि आआफूहरूले कँहि कतै जग्गा नपाएपछि धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँस्थित ऐलानी जग्गामा ०६२ सालदेखि अस्थायी शिविर निर्माण गरी बस्दै आएको बताउनुभयो ।

हाल धनगढी उपमहानगरपालिका–८ का वडा अध्यक्षले आफूहरूसँग कुनै छलफल र जानकारी नदिइकन एकलैटी हिसावले नगर स्वास्थ्य कार्यालय निर्माण सुरू गरेको उहाँको आरोप छ ।

उहाँले भन्नु भयो–‘मुक्त भइसकेपछि आआफूहरूले पुनर्स्थापनाको माग राखी धेरै पटक सम्बन्धित निकायमा अनुरोध गर्‍यौँ । तर, सुनवाइ भएन् । बाध्य भएर धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा रहेको गौचरनमा अस्थायी घर बनाएर बस्दै आयौँ । त्यस समयमा स्थानीय बासिन्दाले आआफूहरूको गौचरन भएको भनेर विरोध गरे । तर, सर्वदलीय बैठक बसी वास्तविक सुकुम्बासी/कमैया रहेको ठहर गरी हामीलाई बस्ने वातावरण बनाएका हुन् । अहिले १४ वर्षपछि वडा कार्यालयले हाम्रो बिचल्ली बनाउन खोज्यो ।’

१० घर मुक्त कमैयाले घर बनाएर भोगचलन गर्दै अएको जमीनमा एक वर्ष अगाडि सिटि हल निर्माणको क्रममा ओगटिएको मुक्त कमैयाको आरोप छ ।

स्थानीय मुक्त कमैया दुखनी चौधरीले कुनै जानकारी नै नदिइकन आफूहरूले भोगचलन गर्दै आएको जग्गामा नगर स्वास्थ्य भवन बनाउने नाममा जेसिवी लगाएर खन्ने काम भइरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो–‘जबसम्म हाम्रो वैकल्पी व्यवस्थापन हुँदैन तबसम्म हामी निर्माण कार्यमा अवरोध गर्छौँ । हामी निरन्तर धर्नामा छौँ । विकासको नाममा हाम्रो उठीबास गर्न पाइँदैन ।’

मुक्त कमैया मुकेश चौधरीले नगर स्वास्थ्य भवन निर्माणका लागि खनिएको जग नजिकै रहेका मुक्त कमैयाका दुई ओटा घर भत्काएर अर्को भवन बनाउने नक्सामा देखिएकोले आफूहरूको वैकल्पिक व्यवस्था नभएसम्म भवन निर्माण स्थालमा धर्ना बसिरहने बताउनु भयो ।

धनगढी उपमहानगरपालिका–८ का वडा अध्यक्ष नारायणप्रसाद बरालले मुक्त कमैया बसोबास गर्दै आएको ३ कठ्ठा १० धुर जमीनको लालपुर्जा राधाकृष्ण मन्दिरको नाममा रहेकोले मन्दिर व्यवस्थापन समितिको सहमतिमा नगर स्वास्थ्य कार्यालय निर्माण सुरू गरिएको बताउनु भयो ।

उहाँले भन्नु भयो–‘मुक्त कमैयाहरू राधाकृष्ण मन्दिरको नम्बरी जग्गामा बस्दै आएका छन् । एक दिन उहाँहरूले सो जग्गा छोडनु पर्छ । निर्माण कार्यमा अवरोध नगरेको अवस्थामा उहाँहरूको वैकल्पिक व्यवस्था मिलाउन पहल गर्छु ।’

तर, आफूहरूको व्यवस्थापन नहुँदासम्म कुनै पनि निर्माण कार्य अगाडि बढ्न नदिने भन्दै मुक्त कमैयाहरू सो स्थानमा धर्नामा बस्दै आएका छन् ।

photo20191203kailali (1)

photo20191203kailali (2)

photo20191203kailali (3)

photo20191203kailali (4)

photo20191203kailali (5)

photo20191203kailali (6)

photo20191203kailali (7)

photo20191203kailali (8)

photo20191203kailali (9)


मैनामोती चौधरी