स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र फिर्ता

  ०७४ मङ्सिर ६ गते      

सुनापती गाउँपालिका-४ बेथानलाई रामेछापको स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र घोषणा फिर्ता लिएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मङ्सिर ६ गते मध्यान्ह १२ बजेदखि लागु हुने गरी निषेधित क्षेत्र घोषणा फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले बताए ।

सम्भावित झडपलाई मध्यनजर गर्दै सो निर्णय गरिएको, अहिले झडप र अप्रिय घटनाको सम्भावना कम भएकाले निषेधित क्षेत्र घोषणा फुकुवा गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

वाम गठबन्धन र नेपाली काङ्ग्रेसबिचको टकरावका कारण हुन सक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बेथानलाई मङ्सिर ४ गतेदेखि लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो ।

आफूहरूको कार्यक्रमलाई लक्षित गरी स्थानीय प्रशासनले बेथानलाई निषेधित क्षेत्र घोषणा गरेको भन्दै बाम गठबन्धनले मङ्सिर ५ गते जिल्लाका ६३ भन्दा बढी स्थानमा विरोधसभा गरी निर्णय फिर्ता लिन दबाव दिएका थिए ।


नवराज पथिक