स्थानीय तह पुनःसंरचनासम्बन्धी बैठक बिथोलियो

  ०७३ कात्तिक २१ गते

स्थानीय तह पुनःसंरचनाबारे जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा कात्तिक २० गते आयोजित  कार्यक्रम मधेशवादी दलका नेता तथा कार्यकर्ताले बिथोलेका छन् ।

जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा सुरु भएको कार्यक्रममा परिचय आदानप्रदान सकिएलगत्तै मधेशवादी दलका नेता तथा कार्यकर्ताले माइन्युट रजिष्टर च्यातेर बिथोलेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले बताए ।

स्थानीय तह पुनःसंरचना आयोग जिल्ला प्राविधिक सहयोग समितिका तर्फबाट स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलले स्थानीय तहको पुनःसंरचनाका विषयमा आ-आफ्नो सुझावका लागि बैठक बोलाएका थिए ।

जिल्ला अध्यक्षहरुलाई बोलाइएको बैठकमा ठूला तीन दलबाट अध्यक्षहरू मात्र सहभागी थिए भने मधेशवादी दलबाट केन्द्रीय पदाधिकारी र जिल्लाका दर्जनौ सङ्ख्यामा नेताहरू उपस्थित थिए ।

संविधानमा प्रादेशिक सीमानाका विषयमा विवाद कायम रहेको अवस्थामा स्थानीय तह पुनः संरचनाको छलफल औचित्यहिन भएको भन्दै उनीहरूले कार्यक्रम बिथोलेको बताएका छन् ।


मनोहरकुमार पोखरेल