स्थानीय तह नागरिक वडापत्र बिहीन, सेवाग्राही अलमलमा पर्ने गरेको गुनासो

  ०७६ फागुन ३० गते

पर्साको अधिकांश स्थानीय तहमा नागरिक वडापत्र नहुँदा सेवाग्रही सूचनाबाट बञ्चित हुने गरेका छन् । वडा र पालिका कार्यालयमा सेवा लिन आउने सेवाग्रहीहरू सहज प्रक्रिया थाहा पाउनबाट बञ्चित छन् । काम सम्बन्धित कर्मचारी खोज्दै विभिन्न फाँटमा चहार्नुपर्ने सेवाग्राहीको बाध्यता छ । १४ ओटा स्थानीय तह रहेको पर्सामा वीरगंज महानगरपालिकाबाहेक कुनैपनि स्थानीय तहले कार्यालयमा नागरिक वडापत्र राखेको छैन ।

photo20200313parsa
सरकारी कार्यालयबाट प्रवाह हुने सेवाको प्रकार, लाग्ने दस्तुुर तथा लाग्ने समय खुुलेको नागरिक वडापत्र राख्नुु पर्ने व्यवस्था भएपनि स्थानीय तहहरूले कार्यान्वयनमा ल्याएका छैनन् । यसले गर्दा सेवाग्रही र सर्वसाधारण नागरिकले विभिन्न फाँट चहार्दै सम्बन्धित फाँटका कर्मचारीकहाँ पुग्ने गरेका छन् ।

विन्दवासिनी गाउँपालिका–५ का रामप्रवेश साह कुनैपनि कामको सिफारिश गराउन आउँदा कति दस्तुर र समय लाग्छ भन्ने कुरा थाहा नपाउँदा निकै भौतारिनु परेको बताउनु हुन्छ । नागरिक वडापत्र नहुँदा कुुन सेवा लिन कति शुल्क र समय लाग्छ, कुुन फाँटमा जानुपर्छ भन्ने थाहा नहुँदा अलमलमा पर्ने गरेको पटेर्वा सुगौली गाउँपालिका–२ गादीका बिष्णु मैनालीले बताउनु भयो ।

साबिक गाउँ विकास समिति हुँदा सबै गाविसमा वडापत्र राखिएको थियो । तर, गाउँपालिका बनेपछि सेवा प्रवाहका किसिम, समय र दस्तुुरसमेत फरक परेकोले पुरानो नागरिक वडापत्र हटाइयो तर अध्यावधिक नगर्दा सेवाग्रही समस्यामा परेका हुुन् ।
ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले कार्यालय नै भाडाको भवनमा संचालन भएकोले नागरिक वडापत्र नबनाइएको बताउनु भयो । उहाँले तीनओटा भवनमा अलग अलग कोठा लिएर कार्यालय संचालन गर्नु पर्दा पनि समस्या भएको बताउनु भयो ।
स्थानीय तहको निर्वाचन भएको दुई वर्ष भन्दा बढी भइसक्यो तर नागरिक वडापत्रको ब्यवस्था छैन । पर्साका पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिका, पोखरिया नगरपालिका, पकाहा मैनपुर गाउँपालिका बिन्दवासिनी गाउँपालिका छिपहरमाई धोवीनी जगरनाथपुर जिराभवानी लगायतका गाउँपालिकामा नागरिक वडा पत्र छैन । नागरिक वडा पत्र नराखेर जनप्रतिनिधिहरूले सुशासन कायम गर्नेतर्फ ध्यान दिन नसकेको बुद्धिजीवीहरूको टिप्पणी छ ।


केसि लामिछाने