स्थानीय तहले समयमै आर्थिक खर्चको विवरण नपठाउँदा शिक्षकले तलब पाएनन्

  ०७६ असोज १५ गते

आर्थिक वर्ष सुरू भएको तीन महिना बितिसक्दा समेत जिल्लाका दुई ओटा स्थानीय तहले कोष तथा लेखा नियन्त्रण कार्यालयलाई आर्थिक खर्चको वार्षिक प्रतिवेदन नबुझाउँदा शिक्षकहरूले तलब पाउन नसकेको गुनासो गरेका छन् ।

दसैँ आइसक्दासमेत सामुदायिक विद्यालयका शिक्षकहरूले तलब पाउन नसकेको शिक्षकहरूको गुनासो रहेको छ ।

अघिल्लो आर्थिक वर्ष ०७५/०७६ को खर्च विवरण तथा वित्तिय हस्तान्तरण प्रतिवेदन स्थानीय तहले कोष तथा लेखा नियन्त्रण कार्यालयलाई नबुझाएका कारण तलब निकासा हुन नसक्दा शिक्षकहरूको तलब निकासा हुन नसकेको जनाइएको छ ।

डोल्पामा दुई नगरपालिका र ६ ओटा गाउँपालिका गरी आठ ओटा स्थानीय तह छन् । डोल्पाको सदरमुकाम दुनै समेत रहेको ठुलीभेरी नगरपालिका र मुड्केचुला गाउँपालिकाले अघिल्लो आर्थिक वर्षको खर्च प्रतिवेदन नबुझाएका कारण जिल्लाभरका शिक्षक तलब र दसैँ भत्ता पाउनबाट वञ्चित भएका हुन् ।

साउनको २ गते भित्रमा प्रथम त्रैमासिक बजेट सबै स्थानीय तहलाई निकासा दिनुपर्ने नियम भएपनि बजेट निकासा छोड्नु पुर्व स्थानीय तहले बुझाएको आर्थिक खर्चको प्रतिवेदन बमोजिम हिसाब जाँचिसकेपछि मात्र सबै तहमा बजेट निकासा पठाइने व्यवस्था छ ।

दुई ओटा स्थानीय तहले अहिले सम्म प्रतिवेदन नबुझाएका कारण बजेट निकासा दिन नसकिएको कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल हरिदत्त न्यौपानेले जानकारी दिए ।

एकातिर दसैँ बिदा नजिकिँदै जानु र अर्कोतिर तलबभत्ता निकासा नहुँदा जिल्लाबाहिरका शिक्षकहरूलाई समयमा घर जान समस्या भएको शिक्षकहरू बताउँछन् ।

सिराहा घर भई डोल्पाको त्रिपुरा माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक रामनाथ यादवले समयमै तलबभत्ता निकासा नहुँदा घर जानमा समस्या भएको बताए । डोल्पाका १ सय १२ सामुदायिक विद्यालयहरूमा झण्डै ६ सय शिक्षक शिक्षिका कार्यरत छन् ।

शिक्षकहरूको तलबभत्ता मात्र नभई ठुलीभेरी नगरपालिका र मुड्केचुला गाउँपालिकाका कारण जिल्लामा रहेका विभिन्न विषयगत कार्यालयका कर्मचारीहरूको तलबभत्ता समेत निकासा पठाउन नसकिएको कोष तथा लेखा नियन्त्रण कार्यालय, डोल्पाले जनाएको छ ।

जिल्लास्थित विषयगत कार्यालयहरू मध्येमा प्रदेश सरकारमार्फत् एकीकृत भएका कार्यालयका कर्मचारीहरूको तलब समेत प्राविधिक कारणले रकम निकासा गर्न नसकिएकाले समयमा कर्मचारीले तलबभत्ता पाउन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

एकीकृत भएका कार्यालयका कर्मचारीहरूको तलबभत्ताको लागि प्रदेश सरकारले तलब निकासाको लागि पत्र पठाएकाले आवश्यक प्रक्रिया सुरू गरिसकिएकाले अबको दुई तीनदिन भित्रमा तलबभत्ता निकासा हुने पनि कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल हरिदत्त न्यौपानेले जानकारी दिए ।


विष्णुप्रसाद देवकोटा