स्थानीय तहमा बैङ्क सेवा सञ्चालन नहुँदा सेवाग्राहीलाई सास्ती

  ०७६ असार ३ गते

सङ्घीयता लागु भएर स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दा पनि बाजुरा जिल्लाको अधिकांश स्थानीय तहका बैङ्क सेवा सञ्चालन हुन नसकेपछि यस क्षेत्रका स्थानीयहरूले सास्ती भोग्नु परेको छ ।

जिल्लाका अधिकांश स्थानीय तहमा बैङ्क सेवा नहुँदा जिल्ला सदरमुुकाममा रहेको राष्ट्रिय बाणिज्य बैङ्कमा आर्थिक वर्ष २०७५/०७६ मा स्थानीय तहद्वारा सञ्चालन गरिएका सम्पन्न योजनाहरूको भुुक्तानी लिन उपभोक्ताहरू दुई/तीन दिन लगाएर आउने गरेका छन् ।

प्रत्येक स्थानीय तहमा एक बैङ्क स्थापना गर्नेे सरकारको प्रावधान रहेको भएता पनि अधिकांश बैङ्कहरू सदरमुकाम मार्तडी केन्द्रित बन्दा दूरदराजका स्थानीयले सास्ती खेप्नु परेको जगन्नाथ गाउँपालिकाका स्थानीय जया सार्कीले दुखेसो पोखे ।

नौ ओटा स्थानीय तह रहेको बाजुरा जिल्लामा हाल बुढीगङ्गा नगरपालिका, बुढिनन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा बैङ्क शाखा विस्तार हुन सकेको छैन ।

स्थानीय तहमा विस्तार गरिएका बैङ्क शाखाबाट थोरै रकम मात्रै भुक्तानी दिने गरेको र १ लाखसम्मको रकम भुक्तानीका लागि तीन दिन लगाएर जिल्ला सदरमुकामस्थित बैङ्कहरूमा नै आउनु परेको जगन्नाथ गाउँपालिका–२ का हिरालाल विष्टले गुनासो गरे ।

स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकामा बैङ्क शाखा नै स्थापना नहुँदा समस्या झेल्नु परेको स्वामिकार्तिक खापर गाउँपालिकाका लेखापाल खम्बीर बुढाले बताए ।

गौमुल गाउँपालिकामा पनि बैङ्क सेवा नहुँदा सदरमुकाम नै पुग्नु परेको गौमुल गाउँपालिकाका स्थानीय हिक्मत रोकायाले दुखेसो पोखे ।

अधिकांश स्थानीय तहमा टेलिफोन, इन्टरनेट र राम्रो सुरक्षाको प्रबन्ध नभएका कारण बैङ्क शाखाहरू स्थापन गर्न समस्या भएको सरदमुकामस्थित बैङ्क शाखाहरूले बताउने गरेका छन् ।

आर्थिक वर्षको अन्त्यमा राष्ट्रिय बाणिज्य बैङ्क, बाजुरा शाखामा भुक्तानी लिनेहरूको सङ्ख्या अत्याधिक भई सेवा प्रवाहमा समस्या हुँदै आएकोले यसको समाधानका लागि सरकारले स्थानीय तहमा शाखा विस्तार गर्न आवश्यक भएको राष्ट्रिय बाणिज्य बैङ्क, बाजुराका प्रबन्धक जितजङ सिंहले बताए ।


पदमबहादुर सिंह