स्थानीय तहको निर्वाचन सफल बनाउन सबै सक्रियतापूर्वक लाग्नु पर्नेमा जोड

  ०७३ चैत १९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय, काठमाडौँको आयोजनामा चैत १८ गते काठमाडौँमा आयोजित "स्थानीय तहको निर्वाचन र मानव अधिकार" विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले स्थानीय तहको निर्वाचन सफल बनाउन सबै सक्रियतापूर्वक लाग्नु पर्नेमा जोड दिएका छन् ।

photo20170401kathmandu (4)

कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले अहिलोको आवश्यकता चुनाव भएको र यसका लागि युवा जमात तयार भइसकेको बताए । स्थानीय चुनावमा बढी भन्द बढी युवा जमातको प्रतिनिधित्व हुनु पर्ने उल्लेख गर्दै उनले आफ्नो अधिकारका लागि तराई, मधेस, हिमाल र पहाडका मतदाता मतदान गर्न तयार रहेको बताए ।

photo20170401kathmandu (3)

सत्य कुरा राखेर छलफल गर्नु पर्ने भन्दै अध्यक्ष प्याकुरेले सुझव दिए । उनले भने-'जनता विभाजित छैनन् । जनता चुनाव गर्न तयार छन् । चुनाव नचाहनेलाई जनता तह लगाउन तम्तयार भएर बसेका छन् ।'

स्वच्छ निर्वाचनका लागि पर्यवेक्षणको क्रममा प्रविधिको प्रयोग गर्नु पर्ने उल्लेख गर्दै अध्यक्ष प्याकुरेलले सचेत मतदातालाई लक्षित गरी मतदाता र उम्मेद्वारबिच अन्तरसम्वाद हुनु जरूरी रहेको बताए ।

photo20170401kathmandu (2)

द्वन्द्व विश्लेषक शोभाकर बुढाथोकीले स्थानीय तहको निर्वाचन अवसरको रूपमा रहेको बताउँदै अगाडि आएका चुनौतिलाई पार लगाउन हिम्मत गर्नुपर्नेमा जोड दिए । स्थानीय निर्वाचन सफल बनाउन सबै सक्रियतापूर्वक लाग्नु पर्नेमा उनले जोड दिँदै मतदाता सचेतनाको काम कुनै निकायबाट हुन नसकेकोले तत्काल नमुना मतपत्र तयार गरी मतदाता सचेतना अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताए ।

अधिकारकर्मी प्रदिप पोखरेलले स्थानीय तहको निर्वाचन प्रक्रियाप्रति अधिकांश मतदाता अलमलको अवस्थामा रहेको उल्लेख गर्दै निश्पक्ष र स्वतन्त्र निर्वाचनका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताए ।

photo20170401kathmandu (1)

इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँका संयोजक कृष्ण गौतमले मानव अधिकार सङ्घ संस्थाले मानव अधिकारमैत्री वातावरण सृजना गर्नु पर्ने र स्वच्छ निर्वाचनका लागि पर्यवेक्षणलाई प्रभावकारी रूपमा लैजानु पर्ने बताए । आम मतदाताले भयरहित मतदान गर्ने वातावरण तयार गर्नु मानव अधिकारकर्मी सङ्घसंस्था र राज्यको दायित्व भएका उनले बताए ।

गैर सरकारी संस्था महासङ्घ काठमाडौँ जिल्ला शाखाकी अध्यक्ष रञ्जु नापितले अहिले मतदाता शिक्षाको खाँचो रहेको उल्लेख गर्दै स्थानीय निर्वाचनको बहसलाई स्थानीय स्तरसम्म लग्नु पर्नेमा जोड दिइन् ।

अधिवक्ता टीकाध्वज खड्काले स्थानीय तह र मानव अधिकार विषयक कार्यपत्र प्रस्तुत गर्दै स्थानीय निर्वाचनलाई प्रभावकारी बनाउन नागरिक समाजले सकारात्मक भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।


इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँ