स्थानीय तहका स्वास्थ्य संस्थामा औषधि अभाव, गाउँपालिकाले खरिद गरेको औषधि खोलामा

  ०७६ कात्तिक ११ गते

कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य चौकीमा औषधिको अभाव भएको गुनासो आइरहेको अवस्थामा स्वास्थ्य शाखाले समयमा स्वास्थ्य संस्थामा औषधि नपठाएर म्याद नाघेको भन्दै खोलामा औषधि फालेको भेटिएको छ ।

गत वर्षको वार्षिक कार्यक्रममा खरिद गरेको क्षेत्रीय स्वास्थ्य मेडिकल स्टोर र जिल्ला अस्पताल, जुम्लाबाट गाउँपालिकामा ल्याएको लाखौँ मुल्य बराबरको औषधि समयमा स्वास्थ्य संस्थालाई वितरण नगर्दा औषधिको म्याद सकिएपछि खोलामा फालिएको भेटिएको हो ।

कनकासुन्दरी गाउँपालिका–६ का धनबहादुर वडले खोलामा औषधिका १० बोरा भेटाएका हुन् । स्वास्थ्य संस्थामा औषधि समयमा नदिने तर म्याद सकिएपछि खोलामा फालिएको उनले बताए ।

‘कनकासुन्दरी गाउँपालिकाका पाँच ओटा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको भनिएपनि गाउँपालिकाले लाखौं मूल्य बराबरको औषधि खोलामा फालेको भेटियो ।’–वडले भने ।

गाउँपालिका नजिकै रहेको खोलामा मेट, ओबिचेक ५००, सिटामोल, ब्रुफिन, स्लाइन पानीका निडल, पाइप, सुईका निडल, जीवनजल, एन्थर २५०, एभसम, अस्थाई बन्ध्याकरणका सामग्री कण्डम पिल्सलगायत औषधि १० ओटा बोरामा राखेर खोलामा फालिएको अवस्थामा भेटिएको हो ।

स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि कनकासुन्दरी गाउँपालिका भर रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव भएपछि स्थानिय बासिन्दा बिरामी पर्दा निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका छन् ।

गोठीज्यूला, नरकोट, कोटघर, गोच्चौरमा रहेका निजी मेडिकलमा चर्को मूल्य तिरेर औषधि किन्नु परेको स्थानीयहरूको गुनासोे छ ।

स्वास्थ्य संस्थामा उपचार गर्न जाँदा कहिले अहेब त कहिले अन्य कर्मचारीहरू पनि नभेटिने र कर्मचारी भेटिए पनि औषधि छैन भन्ने गर्दा आफुहरूले निजी मेडिकलमा उपचार गर्ने गरेको स्थानीय बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालयबाट आएको र क्षेत्रीय मेडिकल नेपालगञ्जबाट पठाएको औषधिको म्याद थोरै अवधिको मात्रै भएको र सोही औषधिको म्याद सकिएकाले खोलामा फालिएको गाउँपालिकाले जनाएको छ । तर, गाउँपालिकामा औषधिको भने अभाव नभएको गाउँपालिकाको दावी छ ।

गतवर्ष गाउँपालिकाले ६ लाख रुपियाँ बराबरको औषधि खरिद गरेको जानकारी दिँदै गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख दामोदर आचार्यले खोलामा फालिएको ठूलो परिमाणको औषधिको बारेमा अनुसन्धान गर्न लगाउने बताए ।

photo20191025jumla1

photo20191025jumla2


मानदत्त रावल