स्थानीयले प्रहरी कार्यालयमा आक्रमण गर्दा चार प्रहरी घाइते

  ०७५ वैशाख २५ गते

इलाका प्रहरी कार्यालय सेढवामा वैशाख २३ गते स्थानीयले आक्रमण गर्दा असई गोपाल खड्का, प्रहरी जवान सुकेश्वर महतो, शम्भु महतो र जयप्रकाश यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजन लिम्बूले जानकारी दिएका छन् । घाइतेहरूको उपचार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भएको डिएसपी लिम्बुले बताए ।

चार जना भारतीय नागरिकलाई छुटाउनका लागि स्थानीयले प्रहरी कार्यालय घेराउ गर्दा झडप भएको थियो । सीमावर्ती चौकी बलुवा नजिक कार्यस्थलमा खटिएका प्रहरीले चेकजाँचको क्रममा मदिरा सेवन गरी एउटै मोटरसाइकलमा चार जना सवार रहेको भारतीय नागरिकलाई सम्झाउँदा प्रहरीलाई नै गालीगलौज गरेको आरोपमा भारत बिहारको बेतिया जिल्ला भङ्गाहा थाना शिसवाका बजरङ्गी गौरो, रामप्रवेश गौरो, बिष्णुभर गौरो र दिनदयाल महतोलाई गिरफ्तार गरेको थियो ।

गिरफ्तार भएकामध्ये दुई जनालाई उनीहरूकै मोटरसाइकलमा र अन्य दुई जनालाई प्रहरीको मोटरसाइकलमा राखी प्रहरी हवल्दार बीरबहादुर गुरुङले ल्याउन खोज्दा प्रहरी हवलदार गुरुङलाई उनीहरूले भारततर्फलगेका थिए । अपहरण शैलीमा प्रहरी हवल्दार लिएर भारततर्फगइरहेको अवस्थामा भारतीय प्रहरी एसएसवीको टोलीले नियन्त्रणमा लिई नेपाल प्रहरीलाई बुझाएको थियो ।

प्रहरीलाई अपहरण गर्न खोजेको आरोपमा उनीहरूलाई कारबाही अगाडि बढाउन इलाका प्रहरी कार्यालय सेढवामा ल्याएपछि स्थानीय आक्रोशित भएका थिए । स्थानीयले आफन्तलाई प्रहरीले फसाउन खोजेको भन्दै प्रहरीविरुद्ध राति ८ बजेदेखि नाराबाजी गरेका थिए ।

स्थानीयले बा २ ब ५७०५ नम्बरको सरकारी र ना १४ प ४५७७ नम्बरको निजी मोटर साइकल जलाएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको मोटरमा समेत उनीहरूले तोडफोड गरेका छन् । स्थानीयबासी तोडफोड र आगजनीमा उत्रिएपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिम्बुले जानकारी दिए ।


केसी लामिछने