स्थानीयद्वारा वडाध्यक्षमाथि कुटपिट, गाउँबाट विस्थापित

  ०७६ साउन २ गते

पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुम गाउँका स्थानीयले बुधबार कुटपिट गरेका छन् ।

बागजाले सामुदायिक वनको अवैध जडिबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुम गाउँका स्थानीयले कुटपिट गरेका हुन् ।

वडाध्यक्ष रावतमाथि लुम गाउँका स्थानीयले हातपात गर्नुका साथै अभद्र व्यवहार गरी कठालो समातेर सर्ट च्यातेको आरोप छ ।

कालीबहादुर रावललगायतका स्थानीयको अगुवाइमा वडाध्यक्षमाथि लुम गाउँका स्थानीयले हातपात गरेको आरोप छ ।

लुमगाउँका स्थानीयले नाराबाजी गर्दे वडाध्यक्ष रावत विरुद्ध आन्दोलन गरेका हुन् । वडाध्यक्ष पदबाट राजिनामा दिन माग समेत गरेका छन् ।

सामुदायिक वनमा पाइने सेतो चिनी (खिरौँला) चोरी निकासीमा वडाध्यक्षको प्रत्यक्ष सहभागिता रहेको लुमगाउँका स्थानीयको आरोप छ । जनप्रतिनिधि नै अवैध कारोबारमा संलग्न भएको आरोपमा गाउँ नै वडाध्यक्षको विरूद्धमा रहेका छन् ।

कुटपिट घटनाका आरोपित कालीबहादुर रावलले वडाध्यक्ष रावत जडीबुटी चोरी निकासीमा संलग्न रहेको आरोप लगाए ।

उनले भने–‘यस विषयमा वडाध्यक्षसँग भनाभन भएको हो तर हातपात र कुटपिट भएको छैन ।’ गाउँमा विवाद भएको समयमा प्रहरी नआउने र वडाध्यक्षले बोलाएको अवस्थामा आएपछि प्रहरीलाई गाउँबाट लखेट्नु पर्ने स्थिति सिर्जना भएको उनले बताए ।

गाउँबाट वडाध्यक्ष रावत विस्थापित
वडाध्यक्ष कालीबहादुर रावतले अवैध जडिबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको बताएका छन् । उनले भने–‘स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासीबाट रोक्न खोज्दा कालीबहादुर रावल लगायतको टोलीले कुटपिट गरेको हो ।’

हातपात गरी दुव्र्यवहार गर्दा गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलङ्गा बजारमा बस्दै आएको उनले बताए ।

बागजाले सामुदायिक वनमा पाइने जडिबुटीको अवैध चोरी निकासी भएको सूचना स्थानीयबाट आएकाले दुई पटक प्रहरी लिएर वनमा गएको उनको भनाई छ ।

स्थानीयले लगाएको आरोप न्यायिक निकायले दोषी ठहर्‍याए कानुन बमोजिम कारवाही भोग्न तयार रहेको उनको भनाई छ ।

ज्यान असुरक्षामा रहेको बताउँदै वडाध्यक्ष रावतले भने–‘गाउँ नै आफूमाथि खनिएकाले घर छोडेर विस्थापित हुनु परेको हो ।’

सुरक्षाको लागि डिल्लीचौर प्रहरी चौकीबाट गएका प्रहरीमाथिसमेत लुम गाउँका स्थानीयले ढुङ्गामुढा गरेका छन् । वडाध्यक्ष माथि हातपात भएको विषयमा बुझ्न गएका प्रहरी माथि स्थानीयले ढुङ्गामुढा गरेका हुन् ।

डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज प्रेमबहादुर थापाले लुम गाउँका स्थानीयले आफूहरू माथि ढुङ्गामुढा गरेको बताए ।

सुरक्षाका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गामुढाका साथै हातापात समेतको प्रयास भएको इन्चार्ज थापाले बताए ।

वडाध्यक्ष माथिको हातपात घटनाका विषयमा मौखिक रूपमा जानकारी भएको इन्स्पेक्टर नविन वलीले बताए ।


मानदत्त रावल