स्थानीयको विरोधका कारण नवौँ गाँउ परिषद स्थगित

  ०७३ माघ ४ गते

सामाजिक सुरक्षा भत्ता वितरण नगरेको आरोपमा स्थानीयले विरोध गरेपछि डाँडाफया र रोडिकोट गाउँ विकास समितिको नवौँ गाँउ परिषद स्थगित गरिएको छ ।

गाउँ विकास समितिका सचिवले चौमासिक रूपमा वितरण गर्नु पर्ने सामाजिक सुरक्षा भत्ता वितरण नगरेको आरोपमा स्थानीय नागरिकले गाँउ परिषद गर्न नदिएपछि परिषद वैठक स्थगित गरिएको हो ।

डाँडाफया गाविसमा सचिवले आर्थिक वर्ष ०७२/०७३ को बाल अनुदान र सामाजिक सुरक्षा भत्ता वितरण नगरेका कारण स्थानीय नागरिकले आगामी आर्थिक वर्षा लागि नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्न आयोजित परिषद सञ्चालन गर्न नदिएको स्थानीयबासी अङ्गबहादुर शाहीले बताए ।

परिषद संचालन गर्न सहायक प्रमुख जिल्ला अधिकारी रिद्धीप्रकाश सिटौला र निमित्त स्थानीय विकास अधिकारी रामप्रसाद अधिकारी गाविसमा गए पनि स्थानियबासीले सामाजिक सुरक्षा भत्ता नपाउँदासम्म परिषद गर्न नदिने जनाएपछि परिषद नभएको सहायक प्रजिअ सिटौलाले जानकारी दिए ।

सो गाविसमा सचिवले ८ लाख रुपियाँ नागरिकलाई नबुझाएको स्थानीय नागरिकले आरोप लगाएका छन् ।

रोडिकोट गाविसमा पनि चौमासिक रूपमा बुझाउनु पर्ने आर्थिक वर्ष ०७२/०७३ को बाल अनुदान र सामाजिक सुरक्षा भत्ता २८ लाख ९२ हजार रुपियाँ नबुझाएको भन्दै स्थानीयबासीले नवौँ गाउँ परिषद सञ्चालन गर्न नदिएको रोडिकोटका स्थानीयबासी प्रकाशबहादुर शाहीले जानकारी दिएका छन् । यो गाउँ परिषदबाट आगामी आर्थिक वर्षा लागि नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्ने कार्यक्रम थियो ।

पुस मसान्तसम्म गाउँ परिषद गरिसक्नुपर्ने स्थानीय स्वायत्त शासन ऐनमा व्यवस्था भए पनि डाँडाफया र रोडिकोट गाविसले नवौँ गाउँ परिषद गर्न नसकेका हुन ।

आगामी वर्ष दुवै गाविसमा अनुदान रकम घट्ने निश्चित देखिएको निमित्त स्थानीय विकास अधिकारी रामप्रसाद अधिकारीको भनाई रहेको छ । गाविसहरूले पूर्ण रूपमा अनुदान पाउन न्यूनतम शर्त तथा कार्यसम्पादन मापन (एमसिपिएम) उतीर्ण भएको हुनुपर्ने प्रावधान छ । त्यसका लागि पनि तोकिएको समयभित्रै गाउँ परिषद वैठक गर्नुपर्ने कानुनी प्रावधान रहेको जिविसको लेखा शाखाले जनाएको छ ।

गाविसको सचिवका कारण गाउँमा अनुदान कम आएर गाउँले प्रभावित बने सशक्त आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन् ।

समस्या आइसकेपछि जिल्ला विकास समितिले रोडिकोट र डाँडाफया गाविसमा सामाजिक सुरक्षा भत्ता वितरण गरेर गाउँ परिषद सञ्चालन गर्ने तयारी गरिरहेको निमित्त स्थानीय विकास अधिकारी रामप्रसाद अधिकारीले प्रतिबद्धता जनाएका छन् ।

 


नन्द सिंह