स्थगित भएका दुई केन्द्रमा मङ्सिर १५ गते पुनःमतदान हुने

  ०७४ मङ्सिर १३ गते

मतपेटिकामा एसिड हालेर आगो लागेपछि स्थगित भएका रूकुम (पश्चिम) का दुई केन्द्रमा मङ्सिर १५ गते पुनः मतदान हुने भएको छ ।

मङ्सिर १० गतेको निर्वाचनमा बाँफिकोट गाउँपालिका-५ को रत्न आधारभुत विद्यालयको (क) मतदान केन्द्रको प्रतिनिधिसभा तर्फको मतपेटिकामा पनि एसिड हालिएको थियो ।

यस्तै आठविसकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय मावि गत्तसैनाको (ख) मतदान केन्द्रको समानुपातिक तर्फको मतपेटिकामा पनि एसिड हालेकै कारण त्यस भित्रका मतपत्र जलेका थिए ।

निर्वाचन आयोगको निर्देशनपछि मङ्सिर १५ गते यी केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रूकुम (पश्चिम) का सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेले बताए ।

साथै आयोगले निर्वाचन गराउने सन्दर्भमा मतपत्र बाहेकका मतदान सामग्रीको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालय रूकुम (पश्चिम)लाई मिलाउन निर्देशन दिएको छ ।

आयोगले रद्ध भएका मतदानसँग सम्बन्धित मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका अधिकृतस्तरका प्रतिनिधि समेतको रोहवरमा खोली ती मतपेटिकामा रहेका मतपत्र आगो लगाई नष्ट गर्नसमेत निर्देशन दिएको छ ।

दुवै मतपेटिकामा एसिड हालेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । बाँफिकोटको मतपेटिकामा एसिड हालेको आरोपमा सोही ठाउँकी कल्पना केसी र आठविसकोटको मतपेटिकामा एसिड हालेको आरोपमा सोही चुनावमा खटिएका काङ्ग्रेसका प्रतिनिधि केशव खड्का गिरफ्तारीमा परेका छन् ।


मनिषा केसी