स्क्रब टाइफसको परीक्षण किट अभाव हुँदा बिरामी समस्यामा

  ०७७ असोज ५ गते

म्याग्दी जिल्लामा स्क्रब टाइफसको परीक्षण किट अभाव हुँदा बिरामीहरुलाई समस्या परेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गत भदौ ३१ गते प्रदेश भित्र डेंगु तथा स्क्रब टाइफसका बिरामीहरूको सङ्ख्या म्याग्दीमा उच्च रहेको तथ्याङक सार्वजनिक गरेको छ ।

स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार प्रदेश भित्र १ सय ५ जना डेंगु र ५४ जनामा स्क्रब टाइफसको सङ्क्रमण भएकोमा म्याग्दीमा ६४ जनामा डेंगु र ४३ जनामा स्क्रब टाइफसको सङ्क्रमण भएको उल्लेख भएपनि डेंगुको सङ्ख्या बढेर म्याग्दीमा ६७ पुगेको छ ।

सो अवस्था भएपनि म्याग्दीमा पछिल्लो एक हप्ता देखि स्क्रब टाइफसको ल्याब परीक्षण भने हुन सकेको छैन ।

नेपालको संविधानको धारा ३५ को उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने उल्लेख भएको भएपनि अहिले बेनी अस्पतालमा उपचारका लागि आउने बिरामीहरूले स्क्रब टाइफसको परीक्षण गर्न पाएका छैनन् ।

सोही धाराको उपधारा (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक भनिएको भएपनि राज्यको तर्फबाट गर्नुपर्ने परीक्षण किटको व्यवस्था हुन नसक्दा बिरामीहरू मर्कामा परेका छन् ।

बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार प्रदेश जनस्वास्थ्य निर्देशनालयमा किट लिनका लागि गाडी पठाइएको भएपनि डेंगुको किटमात्रै पाइएको स्क्रबको किट प्रदेशले नै उपलब्ध गराउन नसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘म्याग्दीमा स्क्रब टाइफस र डेंगुको सङ्ख्या बढ्दो थियो, स्क्रब ४३ पुगी सकेका थिए संक्रमितहरू किट नै नभएपछि त्यस पछि संख्या थप भएको छैन भने आइतबार सम्म डेंगुका बिरामी ६७ पुगेका छन् ।’

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले निकालेको पछिल्लो विवरण अनुसार कास्कीमा डेंगुका २० जना, स्क्रब टाइफसका दुई जना, बागलुङमा डेंगुका दुई जना, स्क्रब टाइफसका ६ जना, लमजुङमा डेंगुका १० जना, पर्वतमा डेंगुका एकजना, गोरखामा डेंगुको एक जना, स्याङ्जामा डेंगुको चार जना र नवलपरासीमा डेंगु र स्क्रब टाइफसका तीन÷तीन जना बिरामी भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

म्याग्दीको बेनी अस्पतालका डाक्टर नवराज बस्ताकोटीका अनुसार डेंगु पनि निकै जोखिम युक्त रोग हो र यो भन्दा पनि स्क्रब टाइफसले निकै जटिल अवस्था सृजना हुन्छ ।

‘समयमै पहिचान हुन नसकेमा स्क्रब टाइफसले किड्नी नै ड्यामेज गर्न सक्छ ।’–डाक्टर बस्ताकोटीले भन्नुभयो – ‘म्याग्दीमै एक जना बिरामी आउनुभएको थियो । उहाँ अस्पतालमा आउँन साथ हामीले लक्षणका आधारमा स्क्रबको औषधी चलायौं, तर उहाँलाई निकै पहिल्यै सङ्क्रमण रहेछ थप उपचारका लागि पोखरा पठाइएको थियो तर उहाँ डायलाइसिस गर्नुपर्ने अवस्थामा पुग्नु भएको भन्ने सुन्नमा आएको छ ।’

जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार स्क्रब टाइफसको किट प्रदेशमा माग गरेको भएपनि नभएको भन्ने जानकारी आएकोले माथिल्लो निकायमा माग गरी पठाइएको छ ।

निमित्त प्रमुख लम्सालले भन्नुभयो –‘पोखरामा किट नभएको भन्ने आएपछि काठमाडौंमा माग गरिएको छ तर कहिले आइपुग्छ भन्ने टुङ्गो छैन ।’

बेनीमा अहिले परीक्षण किट नहुँदा पछिल्लो समय स्क्रबका शङ्कास्पद बिरामीलाई माथिल्लो अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी सुवेदीले बताउनुभयो । उहाँका अनुसार शङ्ंका लागेकालाई औषधी चलाएर पोखरा रिफर गर्ने गरिएको छ ।


अमृत बास्कुने