स्कुले बालबालिका तुइनको सहारामा आहोरदोहोर (फोटो फिचर)

  ०७६ वैशाख २३ गते

भीमकाय पहाडको खोचमा महाकाली नदी बगिरहेको छ । हेर्दै आङ जिरङ्ग हुने । भारतीय बाटो भएर गाडी दर्गुछन् । जहाँजहाँ तिन पाते तारमा तुइन लगाइएको छ । त्यहि ठाउँमा गाडी रोकिन्छ ।

विद्यालयको लागि पोशाक सिलाउन खलङ्गाबाट घर फर्किँदै गरेका व्यास गाउँपालिका–४ की मीना कुँवर घर जाने हतारोमा थिए । खोला किनारमा पुगे । केहीबेर त्यतै बसिन् । केही समयपछि खोलामाथि गाउँमा पसल थापेका दुई जना युवा हस्याङ्फस्याङ गर्दै खोला किनार पुगे । मीना अब खोला तर्ने तयारीमा जुटिन् ।

पारी नेपालबाट आएका दुई जनाले फलामे तार खोलि दिए । तार माथि मान्छे बसाल्न बनाइएको डिब्बा डोरीको सहारामा वारी भारत तिर पठाए । तार अड्काएपछि सुरू भयो हेर्दै डर लाग्दो नदी माथि आङ नै सिरिङ्ग हुने यात्रा । खिइएको तुइनको तारमा त्यस्तै डिब्बा भित्र आफू र झोलाको भारी हाली तर्न सुरू हुन्छ मिनाको दैनिकी ।

व्यास गाउँपालिका वडा नम्बर २, ३, ४ र ५ का स्थानीय दिनहुँ त्यही तुइनको सहारामा घर नजिक बजार नहुँदा नुन, तेल र चामललगायतका आवश्यक समान लिन भारतीय बजार जानैपर्छ । नेपाल भारत सीमा नदी महाकालीको मालघाट, बर्तिघाट, मलघाट, डोकटलगायतमा उनीहरूको अहिले पनि यस्तै यात्रा हुने गरेको छ । भारतको धारचुलाबाट एक डेढ घण्टा लगाएर ती तुइन भएको क्षेत्रमा पुगिन्छ । नेपालतिर बाटो घाटो राम्रो छैन । भारतको धारचुला छिर्ने बित्तिकै मोटर बाटोको सुविधाका कारण भारतीय बाटोमा नेपाली परनिर्भर हुनुपरेको छ ।

‘भारतबाट जाँदा जिल्ला सदरमुकाम खलंगा मोटरमा एक घण्टामै पुगिन्छ तर स्वदेशको गोरेटो अझै पूरा भएको छैन ।’–स्थानीय रोशनी भट्टले भनिन् । त्यही सुविधाको लोभमा स्थानीय जोखिम मोलेर भएपनि तुइन चढ्ने गरेका छन् । नेपालको अन्तिम सिमा क्षेत्र महाकाली नदीमा ती वडाहरू जोड्ने गरी नेपाल भारत झोलुङ्गे पुल निर्माण गरिएको छैन ।

स्थानीय उत्पादनले तीन महिना बढीमा ६ महिना पनि राम्रोसँग खान नपुग्ने भएकाले उतै भारतको भर पर्नुपर्ने बाध्यता वर्षौँदेखि उस्तै छ । साँझ, बिहान रात बिरात हिँड्नुपर्ने बाटोमा उर्लँदो महाकाली तर्न कम सकस हुँदैन । ‘दुधे बालकसहित आमालेसँगै जोखिम मोलेर वारपार गर्दा आँखा रसाउँछन् ।’–स्थानीय रतना शाहुले भनिन्–‘वारीपारी गर्दा आँखा चिम्लेर हिड्नुपरेको छ । केटाकेटी एक्लै पठाउन सकिने अवस्था छैन ।’

तीन तहका सरकार हुँदा पनि व्यासका नागरिकले भने आफ्नो देश जाने बाटो त टाढाको कुरा, महाकाली नदी पार गरेर जान सहज रूपमा पुल पाएका छैनन् । त्यही लठ्ठामा भिरिएर तुइनको सहारामा वारपार गर्छन्, दैनिकी यहि तुइनको सम्राज्यमार्फत । भौगोलिकरूपमा विकट व्यास गाउँपालिका जहाँ अहिले पनि नागरिक दैनिक तुइनमार्फत आवतजावत गर्न बाध्य छन् । तुइन विस्थापन अन्तर्गत व्यास गाउँपालिका–५ तिगरम र लेकम गाउँपालिका–३ लालीमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल बनेपनि व्यासको अन्य वडा जोड्ने गरी झोलुङ्गे पुल नबन्दा समस्या ज्यूँका त्यूँ छ ।

अहिले स्थानीय सरकारले पनि पटकपटक चार ठाउँमा बन्ने भनिएका झोलुङ्गे पुल निर्माणको लागि सस्पेन्सन व्रिज डिभिजन सँग आग्रह गरेको व्यास गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकी बताउँछन् ।

‘तुइनबाट अकालमै कसैले ज्यान गुमाउनु नपरोस भन्नको लागि ताकेता गरेका छौँ । चार ओटा क्षेत्रमा झोलुङ्गे पुल लगाउनको लागि प्रक्रिया अघि बढेको छ । विगतमै टेण्डर भएका तर भारतीय पक्षको सहमति आउन ढिलाइ हुँदा रोकिएको थियो । अहिले भारत सरकारले पनि पुल निर्माणको प्रक्रिया अघि बढाउन सहमति दिएको छ ।’–अध्यक्ष बुढाथोकीले भने ।
गाउँपालिकाले झालुङ्गे पुल सँगै दार्चुला तिङ्कर सडक निर्माणमा तिव्रता दिन दबाब दिँदै आएको छ । आगामी एक महिना भित्र व्यास गाउँपालिका केन्द्र सुनसेरासम्म गाडी गुडाउन सके जोखिमयुक्त तुइनको प्रयोगमा कमी आउने उनको भनाई छ ।

तुइन तराएबापत ५० रुपियाँ
व्यास गाउँपालिका–४ डोकटमा तुइन सञ्चालन गरेका बहादुर विष्टको तुइनबाटै राम्रो आम्दानी हुनेगरेको छ । तुइनको लागि तार डालो र वारीपारी रसि (डारी)मार्फत तराएबापत उनले प्रतिव्यक्ति ५० रुपियाँ  लिने गरेका छन् ।

दैनिक १५–२० जना तुइनमार्फत वारीपारी गर्छन् । ‘अहिलेसम्म तुइन सञ्चालनपछि राम्रै भएको छ । स्थानीयलाई तराउन पनि जोखिम कम छ । व्यापार भन्दा पनि सेवा हो ।’–विष्टले भने ।

photo20190506darchula (1)

photo20190506darchula (2)

photo20190506darchula (3)

photo20190506darchula (4)

photo20190506darchula (5)

photo20190506darchula (6)

photo20190506darchula (7)

photo20190506darchula (8)

photo20190506darchula (9)


नरेन्द्रसिंह कार्की