स्काभेटरद्वारा आक्रमण गरी स्थानीयलाई घाइते बनाएको भन्दै कारवाहीको माग

  ०७६ कात्तिक ५ गते

स्काभेटरद्वारा स्थानीयमाथि आक्रमण गर्ने व्यक्ति र समूहलाई कारवाहीको माग गर्दै जिल्लास्थित नागरिक समाज, सङ्घसंस्था, पत्रकार र अन्य सरोकारवालाहरूले कात्तिक ५ गते प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

कात्तिक ४ गते दशरथचन्द नगरपालिका–९ ग्वाल्लेक पार्सस्थित आफ्नो जमीनमा डोजर चलाउन नपाइने भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि स्काभेटरले आक्रमण गरेको घटनाका दोषीहरूलाई कारवाहीको माग गर्दै नागरिक समाजद्वारा प्रशासन र प्रहरीको ध्यानाकर्षण गराएको हो ।

आफ्नो खेतमा चेलेको स्काभेटर रोक्न छिमेकीसहित खेतमा पुगेकी ३० वर्षीया गौरा जोशीलाई डोजर चालक दशरथचन्द नगरपालिका–२ देहीमाडौँका केशब बोहराले स्काभेटरको बोनटले फालिदिएको भिडियो भाइरल भएपछि नागरिक समाज लगायतका सङ्घसंस्थाले यसको विरोध स्वरूप दोषीलाई कारवाहीको माग गरेको नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष प्रेम भाटले बताए ।

नागरिक समाज, इन्सेक, पत्रकार र अन्य सरोकारवालाहरूको दबाबपछि डोजर चालक र डोजर चालाउन लगाउने व्यक्तिहरूलाई प्रहरीले गिरफ्तार गर्ने प्रतिवद्धता जनाएको भाटको भनाई छ ।

आक्रमणका क्रममा गम्भीर घाइते भएकी गौरी जोशी र सुरेन्द्रप्रसाद जोशीको उपचार जिल्ला अस्पताल, बैतडीमा हुन नसकेपछि असोज ४ गते राति नै धनगढी रिफर गरिएको र अन्य घाइतेहरू भने सामान्य उपचारपछि घर फर्किएका जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

आपूmहरूले सडक निर्माणका लागि सहमति गर्न खोजेपनि निर्माण पक्षले जबरजस्ती जमीनमा डोजर चलाएर आक्रमण गरी मार्ने प्रयास गरेको स्थानीय हंसराज जोशीको आरोप छ ।

उनले भने–‘सडक निर्माण हुने ठाउँमा गुठीको जमीन पर्ने भएकाले सबै गाउँलेसँग सहमति गरेर अघि बढ्नुपर्छ भनेका थियौँ । हामीले असोज ३ गते सहमातिका आधारमा ३–४ दिनमा सडक निर्माण गर्ने कुरा गरेका थियौँ । तर, निर्माण पक्षले एक्कासी आएर हाम्रो जमीनमा डोजर चलायो । डोजर रोक्न खोज्दा डोजरले नै हुत्यायो ।’

निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले भने स्थानीयहरूले डोजरमा एक्कासी ढुङ्गामुढा प्रहार गरेको आरोप लगाएका छन् ।

स्थानीयको समूहमाथि यसरी डोजर लगाएर आक्रमण गरेको घटनाले मानवतासम्बन्धी गम्भीर प्रश्न उठाएको नागरिक समाज, बैतडीका सचिव कर्ण दयालको भनाई छ ।

उनले भने–‘घटनासम्बन्धी भिडियो विभिन्न सञ्चारमाध्यमबाट भाइरल भएपछि मात्रै प्रशासनलाई थाहा हुनु दुर्भाग्य हो ।’

दशरथचन्द नगरपालिकाकी उपप्रमुख मिना चन्दले बाटोको विवादका सम्बन्धमा न्यायिक समितमा पनि छलफल भएको र छलफलका क्रममा तिहरपछि प्राविधिकको सहयोगमा समस्या समाधान गर्ने सहमति समेत भएको बताइन् ।

उनले भनिन्–‘स्थानीयको सहमति नहुँदानहुँदै निर्माण पक्षले जबरजस्ती बाटो खन्नु गलत हो । तिहारपछि सर्वपक्षीय छलफल, सहमति र प्राविधिकको सहयोगमा समस्या समाधान गर्नुपर्छ भनेकी थिएँ ।’


नरी बडु