सोह्र वर्षअघि विस्थापित भएका द्वन्द्व पीडित अझै पुनर्स्थापित हुन सकेनन्

  ०७६ साउन २९ गते

दश वर्ष सशस्त्र द्वन्द्वको क्रमका विस्थापित भएका रोल्पा नगरपालिका-१० धबाङका ७० वर्षीय कर्णसिंह पुनमगर अहिलेसम्म पुनःस्थापित हुन सकेका छैनन् ।

२०५९ साल असोजमा काइँलो छोराको स्थानीय युवासँग झगडा भएपछि छिमेकीले 'तत्कालीन माओवादी लगाएर' आफ्नो परिवारलाई घरबाट विस्थापित गराएको बताउने पुनमगरको परिवार १६ वर्षदेखि सदरमुकाम लिबाङमा डेरामा बस्दै आएको छ ।

कर्णसिंहका सात भाइ छोरा र एक छोरी छन् । उनका चार भाई छोरा नेपाली सेना र एक सशस्त्र प्रहरीमा छन् भने दुई भाइ छोरा माध्यमिक तहको अध्ययन गरिरहेका छन् ।

सदरमुकाममै मजदुरी गरिरहेका पुन राप्रपाका कार्यकर्ता हुन् । राप्रपामा आस्था राखेकै कारण त्यतिबेला तत्कालीन माओवादीले लुटेर विस्थापित बनाएको उनको गुनासो छ ।

'छोडेपछि स्याहार नपाएर घर पनि ढल्यो । घर फर्कने मनस्थितिमा थिएँ । तर, अर्को द्वन्द्वको हल्ला चलेकोले अब बाँकी उमेर यतै लिबाङतिर बिताउने निधो गरेँ ।'-उनले भने ।

रोल्पा जिल्लामा २ हजार ५ सय आन्तरिक विस्थापित रहेका थिए । शान्ति सम्झौता पछि धेरै जसो घर फर्के पनि उनी जस्तै करिव ५० जना जति अझै स्थापित हुन सकेका छैनन् । जसको एकिन तथ्याङ्क भने कुनै निकायसँग रहेको छैन ।

पुनमगरले सत्यनिरूपण तथा मेलमिलाप आयोगमा उजुरी दिए पनि सुनुवाई नभएरै मरिन्छ कि भन्ने पुनको चिन्ता छ ।

'उजुरी कहाँ पुग्यो ? मेरो सम्पत्ति लुटेर मलाई किन घरमा बस्न दिइएन । मेरो घर किन लुटियो थाहा पाउनु पर्‍यो नि ! अनि लुटिएको सबै फिर्ता नपाए पनि सरकारले केही त हेनुपर्ने नि !'-उनले सरकारलाई प्रश्न गरे ।


माधवकुमार ओली