सोती घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

  ०७७ जेठ २१ गते

रुकुम पश्चिमको चौरजहारीमा नगरपालिका– ८ सोतीमा ०७७ जेठ १० गते भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका– ४ जाजरकोटका १७ वर्षिय गोविन्द शाहीको शव भेटिएसंगै घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

बेपत्ता भएको १० दिनपछि शाहीको शव ०७७ जेठ २० गते भेरी नगरपालिका–१२ खादाखोला जाजरकोटमा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, डिएसपी ठकबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि भेरी नगरपालिका– ४ रानागाउँ जाजरकोटका २१ वर्षीय नवराज बिक, १७ वर्षीय गणेश बिएम, २१ वर्षीय सन्जु बिक, वडा नम्मर– ११ का १८ वर्षीय लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ का २० वर्षीय टिकाराम नेपालीको शव भेटीएको थियो । उनिहरुको पोष्टमार्टम भएर पनि परिवाको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।

नवराज विक आफ्ना साथी सहित मल्ल थरकी प्रेमिका लिन ०७७ जेठ १० गते जाजरकोटबाट १८ जना साथी लिएर सोती पुगेको र त्यहि बेला उनीहरु माथी आक्रमण भएको थियो । ६ जनाको ज्यान जानेगरी सोतीमा भएको घटनामा संलग्न रहेको आरोपमा १८ जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

पीडित पक्षले ०७७ जेठ १३ गते जिल्ला प्रहरी कार्यालय जाजरकोट मार्फत जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा दिएको किटानी जाहेरीका आधारमा उनिहरुलाई पक्राउ गरिएको डिएसपी केसीले बताउनुभयो । उहाँका अनुसार फरार रहेका दुईजनाको खोजी भैरहेको छ ।


मनिषा केसी