सोती घटनाका २३ जना आरोपित पुर्पक्षका लागि कारागार चलान

  असार ११ गते

चौरजहारी नगरपालिका– ८ सोतीमा जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाका आरोपितमध्य २३ जनालाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश भएको छ ।

रुकुम जिल्ला अदालतका जिल्ला न्यायधीश बिद्याराज पौडेलको एकल इजलालसले चौरजहारी नगरपालिका– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित २३ जनालाई ०७७ असार १० गते पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । बोहराका अनुसार ३९ वर्षीया महिलालाई १ लाख धरौटी र ३ जना अन्य आरोपितलाई साधारण तारेखमा छोड्ने आदेश दिइएको छ । साधारण तारेखमा छुट्ने प्रतिवादीहरूमा इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्द रहेका छन् ।

कारागार चलान हुनेमा वडाध्यक्ष मल्ल सहित डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, १७ वर्षीया बालिका, ४१ वर्षीय पुरुष, तिलक चन्द, हर्कबहादुर मल्ल, बिनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्र भन्ने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, विराज पुन मगर, भिमबहादुर पुन, रमित पुन, सर्वजित भन्ने सविन पुन, मोहन पुन, नविनकुमार घर्तिमगर रहेका छन् ।

श्रेष्तेदार बोहराका अनुसार घटनामा संलग्न दुई नावालकलाई ०७७  असार १  गतेको जिल्ला अदालतको आदेशले बालसुधार गृहमा पठाइएको छ । यस घटनाका संलग्न पाँच जना अझै फरार रहेका छन् । फरार हुनेमा चौरजहारी नगरपालिका– ८ का तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भिमबहादुर बुढा रहेका छन् ।

सोती घटनामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकीलको कार्यालयले ०७७ जेठ ३२ गते ३४ जना विरुद्ध अभियोग दर्ता गरेको थियो । ०७७ असार ३ गते नावालकको बयान पछि बहस गरेर सोही दिन दुवै जनालाई पुर्पक्षका लागि बालसुधार गृह पठाउने आदेश भएको थियो । त्यसमध्य बालिकालाई भक्तपुर पठाइएको छ भने बालकलाई नेपालगञ्जको बालसुधार गृहमा पठाइएको छ । वादीको तर्फबाट पाँच जना सरकारी वकील, जाहेरवालाको तर्फबाट २० जना र प्रतिवादीका तर्फबाट सात गरी ३२ जना वकीलले बहस गरेका थिए ।

जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका नवराज विक १७ वर्षीया मल्ल थरकी बालिका संग प्रेम सम्बन्ध रहेको र विबाह गरेर लैजान भन्दै रुकुम पश्चिम चौरजहारी नगरपालिका– ८ सोतीमा आएको बेला जात नमिल्ने भन्दै सोतीका स्थानियले ०७७ जेठ १० गते  आक्रमण गरेका थिए ।

सो क्रममा जाजरकोटका नवराज विक, गणेश बुढा, लोकेन्द्र सुनार, सन्जु विक, गोविन्द शाही र चौरजहारी नगरपालिका रुकुम पश्चिमका टिकाराम नेपालीको मृत्यु भएको थियो ।


मनिषा केसी