सोती घटनाका दोषीलाई कारवाहीको माग

  ०७७ जेठ १६ गते

रुकुम पश्चिमको चौरजहारी हत्या घटनाका दोषीहरूलाई कारवाहीको माग गर्दै  अधिकारकर्मीहरूले जेठ १६ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुको साथै अध्ययन प्रतिवेदन बुझाएका छन् । उनीहरूले उक्त अध्ययन प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक नेपालगञ्जमा समेत बुझाएका छन् ।

दलित गैरसरकारी संस्था महासङ्घका प्रदेश ५ संयोजक डिलबहादुर परियारले सोती घटना जातीय विभेदकै कारण भएको बताउनु भयो । उहाँले  अन्तर जातीय वैवाहिक सम्बन्धका लागि केटीको घरमा गएको समयमा कुटपिट गरि हत्या गरेर भेरी नदिमा फालिएको निष्कार्ष अध्ययन टोलीले निकालेको बताउनु भयो ।

इन्सेक प्रदेश ५ का संयोजक भोला महतले अध्ययन प्रतिवेदन बुझ्दै उक्त घटनाको इन्सेक लगायतका सङ्घ संस्थाले स्थलगत अध्ययन गरेको बताउनु भयो ।

जेठ १२ गते प्रदेश ५ बाट मानवअधिकार र पत्रकार सम्मिलित टोली घटनास्थलमा गएको थियो । टोलीको नेतृत्व दलित गैरसरकारी संस्था महासंघका प्रदेश ५ संयोजक डिलबहादुर परियारले गरेका थिए । जेठ  १६ गते प्रतिवेदन सार्वजनिक गर्दै समितिले घटना जातीय विभेदकै कारण भएको र ६ जनालाई कुटपिट पछि हत्या गरि नदिमा फालिएको उल्लेख छ । रुकुम घटनाका विषयमा अधिकारकर्मी सङ्घ संस्थाले घटनास्थलको स्थलगत अध्ययन र अनुमगन गरी प्रतिवेदन पनि सार्वजनीक गरेका हुन् ।

टोलीले प्रतिवेदन प्रस्तुत गर्दै रुकुम घटना जातीय विभेदका कारण भएको र नवराज विकसहित ६ जनाको हत्या गरेर नदिमा बगाएको उल्लेख छ ।

अध्ययन टोलीमा नेपाल दलित मुक्ति सङ्गठन प्रदेश ५, नेपाल दलित मुक्ति संगठन बाँके, नेपाल दलित सङ्घ बाँके, गैरसरकारी संस्था महासङ्घ  प्रदेश ५ , दलित गैरसरकारी संस्था महासङ्घ, नेपाल दलित मुक्ति सङ्गठन बाँके, दलित महिला सङ्घ  बाँके र नेपाल दलित मुक्ति सङ्गठन बाँकेले घटनाको अध्ययनपछि प्रतिवेदन सार्वजनीक गरेका हुन् ।

यसैगरी दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार रुकुम पश्चिम जिल्ला चौरजहारी नपा–८ सोतीमा भएको घटनाको विरोधमा दाङका  दलित नागरिक समाजको अगुवाइमा जेठ १६ गते तुलसीपुरमा एक घण्टा अनसन गरेका छन ।

जातीय विभेदकै कारण उक्त घटना भएको उल्लेख गर्दै उनीहरूले विभिन्न ६ वटा मागसहित बिहान ८ देखि ९ वजेसम्म अनशन बसेको समाजका सदस्य निर्मल नेपालीले जानकारी दिनुभयो ।

तुलसीपुरको वीपी चौकमा एक घण्टा अनशन बसेका दलित नागरिक समाजका सदस्यहरूले तत्काल उच्चस्तरीय संसदीय छानवीन समिति गठनको माग गरेका छन । यसैगरी छुवाछुतजन्य गतिविधि गर्नेलाई हदैसम्मको कारवाहीको माग गर्दै समाजले सोती घटनाको निष्पक्ष छानवीनको माग गरेको छ । उनीहरुले सोती घटना विवाह सम्वन्धमा विभेदजन्य व्यवहारकै कारण भएको उल्लेख गर्दै मृतकहरूलाई सहिद घोषणा गर्न र पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको निर्मल नेपालीले बताउनु भयो ।

 

2020052901banke

2020052903banke


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज