सोती घटनाका अर्का एक व्यक्तिको शव भेटियो

  ०७७ जेठ १५ गते

सोती घटनामा बेपत्ता भएका अर्का एक व्यक्तिको शव भेटीएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– १ अधेरी स्थित भेरी नदीमा जेठ १४ गते भेरी नगरपालिका– ११ जाजरकोटका १८ वर्षीय लोकेन्द्र सुनारको शव परिवार तथा आफन्तले भेटाएका हुन् ।

लोकेन्द्रको शव जेठ १४ गते नै जाजरकोट लगिएको छ । सुनार सहित सोतीमा भएको घटनामा मृत्यु भएका चार जनाको शव फेला परेको छ भने दुई जना अझै वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डिएपी ठग बहादुर केसीले जानकारी दिनुभयो ।

जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका २१ वर्षीय नवराज विक र चौरजहारी नगरपालिका ८ सोता निवासी १७ वर्षीया बालिकाले अन्तरजातिय विवाह गर्न खोज्दा जेठ १० गते बालिकाको परिवार तथा गाउँलेले केटापक्षको समूहलाई कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

यसअघि नवराज विक, रुकुम पश्चिम चौरजहारी नगरपालिका– १ का २० वर्षीय टिकाराम नेपाली र भेरी नगरपालिका– ४ रानागाउँ बस्ने १७ वर्षीय गणेश बिएमको शव भेटिएको थियो । प्रहरीका अनुसार पोष्टमार्टमपछि उनीहरुको शव परिवारको जिम्मा लगाइएको छ ।


मनिषा केसी