सैपाल हिमाल माविका ५० जना विद्यार्थी छात्रवृत्तिबाट वञ्चित

  ०७६ साउन २१ गते

सिमकोट गाउँपालिका–८ मा रहेको सैपाल हिमाल माध्यामिक विद्यालयका ५० जना विद्यार्थीहरूले छात्रवृत्ति नपाएको गुनासो गरेका छन् ।

नेपाल सरकारले देशभरका दलित तथा विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरे पनि सो विद्यालयका चार जना दलित विद्यार्थी र ४६ जना विपन्न वर्गका विद्यार्थीले छात्रवृत्ति नपाएको गुनासो गरेका हुन् ।

विद्यालयमा अध्ययनरत २ सय विद्यार्थीमध्ये कक्षा ८ सम्म अध्ययनरत १ सय ५० जना विद्यार्थीहरूले प्रति व्यक्ति १ हजार ५ सय रुपियाँका दरले छात्रवृत्ति पाएपनि कक्षा ९ र १० मा अध्ययनरत ५० जना विद्यार्थीहरूले छात्रवृत्ति नपाएको कक्षा १० मा अध्ययनरत तुल परियारले गुनासो गरे ।

जिल्लामा रहेका सबै विद्यालयका दलित विद्यार्थीहरूलाई मासिक १ हजार ९ सय रुपियाँका दरले छात्रवृत्ति वितरण गर्ने गरेको परियारको भनाई छ ।

विगतका वर्षमा असार महिनामा छात्रवृत्ति दिने गरिएको भएपनि यो वर्ष छात्रवृत्ति नपाएको उनको गुनासो छ ।

विद्यालयका प्रधानाध्यापक देविसिंह बुढाले यस वर्ष निजी श्रोतबाट दुईजना शिक्षक राखेको हुँदा विद्यार्थीको छात्रवृत्ति र खाजाको रकमबाट तलब व्यवस्थापन गर्नुपर्दा छात्रवृत्ति प्रभावित भएको बताए ।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख विष्णुबहादुर शाहीले यो विषयमा थाहा नभएको प्रतिक्रिया दिए ।

सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले भने विद्यालयमा शिक्षक अपुग भएका कारण निजी श्रोतबाट शिक्षक व्यवस्थापन गर्दा छात्रवृत्तिमा समस्या भएको बताउँदै यस बारेमा गाउँपालिकाले कुनै कदम चाल्न नसक्ने बताए ।


नन्द सिंह