सेवा सुचारू नहुँदा सेवाग्राही समस्यामा

  ०७७ असार २२ गते

सरकारले ०७७ असार १ गतेदेखि सरकारी कार्यालय खोल्न निर्देशन दिएको भएपनि पुचौँडी नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालयले सेवा सुचारू नगर्दा त्यस क्षेत्रका सेवाग्राहीहरू समस्यामा परेका छन् ।

इलाका प्रशासन कार्यालय सञ्चालन नगरिदा सो कार्यालयले प्रदान गर्ने नागरिकता लगायतका अन्य सेवाबाट स्थानीय नागरिकहरू वन्चित हुँदै आएका छन् ।

असार १ गतेदेखि जिल्लास्थित सरकारी कार्यालयहरू सञ्चालनमा रहेको भएपनि इलाका प्रशासन कार्यालय अझै सञ्चालनमा नआउदा पुर्चौडी क्षेत्रका नागरिकहरू समस्यामा परेको स्थानीय अनिरुद्र जोशीले बताउनु भयो ।

इलाका प्रशासन कार्यालय सञ्चालनमा नरहेको कारण आफू नागरिकता पाउनबाट वन्चित हुनु परेको स्थानीय बागमती साउँदले गुनासो गर्नु भयो ।

इलाका प्रशासन कार्यालयसँग सवारीसाधनको सुबिधा नभएको र लकडाउनका कारण सार्वजनिक सवारी साधन सञ्चालनमा नआउदा आफू लगायत अन्य कर्मचारी कार्यालयमा उपस्थित हुन नसकी घरमै बस्न बाध्य भएको इलाका प्रशासन कार्यालयका प्रमुख गोबिन्दप्रसाद भट्टले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‛कर्मचारीहरु कार्यालय जान सक्नु भएको छैन् । कार्यालय सहयोगीले कार्यालय खोल्नु भएको छ ।’

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सरकारको निर्देशन अनुसारनै असार १ गतेदेखि कार्यालय सञ्चालनका लागि निर्देशन दिइसकेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘इलाका प्रशासन कार्यालय बन्द रहेको भन्ने जानकारी प्राप्त भएको छ । कार्यालय बन्द हुँदा सेवाग्राहीलाई समस्या हुनेनै भयो । म स्थलगत रुपमा बुझ्न गइरहेको छु ।’

एक शाखा अधिकृत, दुई नायब सुब्बा, एक सह–लेखापाल, एक कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगी गरी सात जनाको दरबन्दी रहेको इलाका प्रशासन कार्यालयमा हाल कार्यालय प्रमुखसहित एक जना नायब सुब्बा र एक जना कार्यालय सहयोगी मात्रै कार्यरत रहेका छन् ।

साविकका एक दर्जन गाविसका झण्डै ६० हजार नागरिकका लागि ०७३ सालमा पुर्चौडीमा स्थापन गरिएको इलाका प्रशासन कार्यालयबाट नागरिकताको प्रमाण–पत्र र नाबालक परिचय–पत्रलगायत सेवाहरू प्रदान गरिदै आएको भएपनि हाल कार्यालय नै बन्द रहदा सेवाग्राहीले समस्या भोग्दै आएका छन् ।


नरी बडु