सेवा उपभोगका लागि सदरमुकाम धाउन बाध्य

  ०७६ फागुन २५ गते

फागुन तेस्रो साता सदरमुकाम फुङलिङस्थित मिक्वाखोला गाउँपालिकाको सम्पर्क कार्यालयमा ४६ वर्षीय फुपुछिरिङ शेर्पा योजनाको फाइल मिलाँउदै हुनुहुन्थ्यो । गाउँपालिकाको वडा– ५ को सिम्बुक नाकेखोला आर.सी.सी पुल उपभोक्ता समितिको अध्यक्ष रहनु भएका शेर्पालाई सम्झौता सकेर गाउँ फर्कन हतारो थियो ।

समितिका पदाधिकारीसहित सदरमुकाम आउनु भएका उहाँहरूले अरूले झै सम्पर्क कार्यालयमा उपभोक्ता समिति दर्ता गर्नुभयो । सेञ्चुरी बैंकमा खाता खोल्नुभयो । प्राविधिकले स्टमेट तयार पारिदिए । योजना सम्झौताको तयारीमा शेर्पा ब्यस्त देखिनुहुन्थ्यो ।“बजार आएको एक हप्ता भयो।”शेर्पाले भन्नुभयो ,“गाउँपालिकाको केन्द्रमै काम हुने भए एक दिनमै सकिने थियो । अब गाउँ गएर काम सुरू गर्नुपर्ने बाध्यता छ ।”

मिक्वाखोला गाउँपालिका–२ का ५० वर्षीय भक्तबहादुर कार्की प्राय सदरमुकाममै बस्नुहुन्छ । राजनीतिमा आबद्ध कार्कीको उद्देश्य गाउँबाट योजना सम्झौता गर्न आएकालाई सघाउनु हो । कार्कीले भन्नुभयो,“गाउँबाट फोनमार्फत साथीहरूले सहयोगको अपेक्षा गर्छन् । कार्यालय पुग्ने र कागजात सङ्कलन गर्न सहयोग गर्छु।” गाउँपालिकाको ५ ओटै वडास्थित खोक्लिङ,लिवाङ,साँवा,पापुङबाट स्थानीयबासी योजनाका लागि सदरमुकाम आउनुपर्ने बाध्यतन छ ।

गाउँपालिकाको केन्द्रमा फोटोकपी गर्ने र फोटो खिच्ने तथा प्रिन्ट गर्ने जस्ता काम हुँदैन् । वडा –५ का वडा सदस्य पासाङ शेर्पाले भन्नुभयो,“गाउँस्थित गाउँपालिकाको कार्यालयमा केही सुविधा छैन् । अनि जिल्ला नआएर के गर्नु ?”

योजनाको काम मात्रै होइन, स्थानीयले गाउँपालिकाको हरेक सेवा लिन सदरमुकामस्थित सम्पर्क कार्यालय आउनुपर्छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो समय एक वर्षअघि नै सदरमुकाममा सम्पर्क कार्यालय खोलेका स्थानीय तहलाई तत्काल बन्द गर्न निर्देशन दिएको थियो । तथापी व्यवहारिक कार्यान्वयन अझै हुन सकेको छैन् ।

अन्य स्थानीय तहले गाउँमै कार्यालय व्यवस्थापन गरेको लामो समय भईसक्दा पनि आफ्नो गाउँपालिकाले कार्यालय स्थापना गर्न नसकेकोमा नागरिक असन्तुष्ट छन् । स्थानीय मोहनचन्द्र साँवाले भन्नुभयो,“सरचना र बैङ्क छैन भन्नु बहाना मात्रै हो ।

केन्द्रमा सामान्य भौतिक पूर्वाधार नहुँदा सदरमुकामबाट सेवा प्रवाह गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङले बताउनुभयो । गाउँपालिका केन्द्रमा बैङ्क,प्रहरी चौकी अभावमा कार्यालय सञ्चालन कठिन भएकाले नयाँ भवन निर्माण नहुन्जेल सदरमुकामबाटै सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताउनुभयो ।

आगामी साउनदेखि गाउँबाटै सेवा प्रवाह गर्ने योजना रहेको अधिकृत गुरुङले बताउनुभयो । योजना सम्झौता तथा गाउँपालिकाबाट उपलब्ध सेवा उपभोग गर्नका लागि समय र पैसा खर्चिएर सदरमुकाम धाउन बाध्य स्थानीयले सङ्घीयतापछि अझ कष्ट थपिएको गुनासो गर्दै आएका छन् ।

 

 


देवराज गुरुङ