सूचना माग गर्दा नगर प्रमुखद्वारा कुटपिट, पीडितद्वारा प्रशासनमा उजुरी

  ०७६ असोज १७ गते

पचरौता नपा–६ पकडीया टोलका सिआइएन नेपाल डट्कम अनलाइनका संचालक ३२ वर्षीय अनिल कुमार बर्मालाई असोज १६ गते महागढीमाइ नपा–२ बरियारपुर बस्ने ३५ वर्षीय नगर प्रमुख उपन भनिने उपेन्द्रप्रसाद यादवले तैले मेरो इन्धन खर्चको सूचना माग्ने को हो ? भनी धम्की दिई कुटपिट गरेको भन्दै पीडितले असोज १६ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

महागढीमाई नगरपालिकाका सूचना अधिकृत २७ वर्षीय कृष्ण सराफसँग सूचना माग गर्दा नगर प्रमुखले बोलाएको भनेपछि नगर प्रमुखको कार्य कक्षमा जाँदा नगर प्रमुखले एक्कासी मेरो इन्धन खर्चको सूचना माग्ने को हो ? भनी कुटपिट समेत गरी कार्य कक्षबाट बाहिर निकालेको पीडित पत्रकार बर्माले बताए ।

उनले नगर प्रमुखले इज्जत प्रतिष्ठामा आँच आउने कार्य गरेको र सूचनाको अधिकार मौलिक अधिकारको प्रयोग गर्न रोक लगाएको आरोप लगाए ।

नगर प्रमुखको आदेशमा नगर प्रहरीले दुई ओटा मोवाइल र परिचय पत्र खोसी लगेको उनले बताए । उनले नगर प्रमुखसँग १५ जना नगर प्रहरी मिलेर आफूलाई र्दुव्यवहार गरेकाले कारवाही गर्न उजुरीमा माग गरेका छन् ।

नगर प्रमुख उपेन्द्र यादवले सबैलाई समान व्यवहार गर्ने र कसैलाई दुव्र्यवहार नगरेको बताउँदै केही समस्या भए सल्लाह गरी समाधान गर्ने बताए ।

असोज १६ गते कलैया अस्पतालमा उपचार गरेको पीडित पत्रकार बर्माले बताए । दायाँ हातको कुहिनोमा चोट लागेको र बायाँ कन्चटमा नगर प्रमुखले झापट हान्दा सुन्निएको र कान दुखेको पीडित पत्रकारले बताए ।

प्रहरी चौकी बरियारपुरका असई जगदिशप्रसाद यादवले दुई ओटा मोबाइल जिल्ला प्रहरी कार्यालयमार्फत असोज १६ गते बेलुका सात बजे बर्मालाई बुझाए पनि परिचय पत्र नभेटेको बताए ।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले नगर प्रमुख र बर्मा बिच छलफल गराई समस्याको समाधान गर्न प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल लागि परेको बताए ।


भोलानाथ पौडेल