सूचनाको हक र गुणस्तरीय सेवाबाट वञ्चित गराइएको उपभोक्ताको आरोप

  ०७६ मङ्सिर ३ गते

सिद्धिचरण नगरपालिका–१० बेतिनीका उपभोक्ताले वडा कार्यालयले सूचनाको हक र गुणस्तरीय सेवाबाट वञ्चित गराएको आरोप लगाएका छन् ।

वडाभित्र सञ्चालन हुने विकासका योजना सञ्चालन गर्न उपभोक्ता समिति गठन, योजना सञ्चालन तथा अनुगमन गर्ने काममा स्थानीय उपभोक्तालाई सूचना नै नदिई योजना फरफराक गरेको उपभोक्ता रमेश धमलाले बताए ।

धमलाले उपभोक्तालाई जानकारी नदिई, विद्युत विस्तार, सिंचाई तथा खानेपानी आयोजनाका काम गर्दा अनियमितता भएको आरोप लगाए ।

उनले भने–‘उपभोक्तालाई जानकारी नदिई हतारमा गरिएका काममा गुणस्तर नहुँदा पानी आएको छैन । हामीलाई सूचनाको हकबाट वञ्चित गरियो ।’

आयोजनाबाट लाभान्वित हुने उपभोक्तालाई जानकारी नदिई निर्माण गरिएका खानेपानी आयोजना, सिंचाई तथा विद्युत आयोजनाबाट उपभोक्ताले पाउने सेवा नपाएको अर्का उपभोक्ता गुणराज धमलाको आरोप छ ।

उनले संविधानले दिएको उपभोक्ताको अधिकार नपाएको, योजनामा भ्रष्टाचार भएको तथा सिद्धिचरण नगरपालिकाले निर्माण गरेको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५ उल्लङ्घन गरेकाले छानविनका लागि सिद्धिचरण नगरपालिका १० का उपभोक्ता गुणराज धमलाले जिल्ला प्रशासन कार्यालयमा असोज ३० गते उजुरी गरे पनि सुनुवाइ नभएको बताए ।

सिद्धिचरण नगरपालिका–१० बेतिनीमा सञ्चालित खाल्टे खानेपानी आयोजना र हरिबोले सिंचाई आयोजना सम्पन्न भएपनि पानी प्रवाह नहुँदा उपभोक्ता सेवाबाट वञ्चित भएका हुन् ।

ती आयोजनाबाट १ सय घरधुरीका उपभोक्ता प्रभावित भएका छन् । संविधानले धारा ४४ को उपधारा १ मा उपभोक्ताको अधिकारसम्बन्धी व्यवस्था छ । उपधारा २ मा प्रत्येक व्यक्तिलाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार हुने उल्लेख छ ।

त्यस्तै नगरपालिकाले जारी गरेको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५ को दफा ४ को १ (ख) मा उपभोक्ता समिति गठन गर्दा उपभोक्तालाई ३ दिन अगावै विषय, मिति, समय तथा स्थान खोलेर उपस्थित हुन अनिवार्य जानकारी गराउनु पर्ने व्यवस्था छ ।

वडाध्यक्ष दामोदर धमला तथा वडा समितिले यस्तो उपभोक्ताले पाउने सूचनाको अधिकारको उल्लङ्घन तथा हनन् गरेको आरोप उपभोक्ता कृष्णबहादुर खत्रीको छ ।

वडा समितिका कारण आफूहरू वडामा सञ्चालन हुने विकास निर्माणमा सहभागी हुन नपाएको तथा भएका कामबाट गुणस्तरीय सेवा नपाएको खत्रीको आरोप छ ।

बेतिनीका पूर्व गाविस अध्यक्ष गुणराज धमलाले वडाध्यक्ष र उपभोक्ता समितिको मिलेमतोमा गुणस्तरहीन खानेपानी आयोजना सञ्चालन गरेर उपभोक्ताले समयमा शुद्ध खानेपानी पाउनु पर्ने अधिकारबाट वञ्चित गराएको भन्दै छानविन गर्न प्रमुख जिल्ला अधिकारी गणेश आचार्य र सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठसँग माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले योजना निमार्णस्थलको अनुगमन गरेर तत्काल छानविन सुरू गर्ने बताए ।

उपभोक्ता समिति गठन गर्दा समिति निर्माण गर्ने, योजना सम्झौता गर्ने, योजनामा भएको खर्च लगायतको जानकारी दिन माग गर्दा सूचना नपाएको उपभोक्ताको आरोप छ ।

सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले गुनासो सम्बोधन गर्न स्थलगत योजना अनुगमन गर्ने र १० नं. वडाका उपभोक्ताको गुनासो सम्बोधन गर्न वडास्तरमै सार्वजनिक सुनुवाइ गर्ने बताए ।


शिवप्रसाद ढुङ्गाना