सुस्त मनस्थितिबाट पीडित परिवारलाई आर्थिक सहयोग

  ०७३ कात्तिक २१ गते

इटहरा गाविसमा एकै परिवारका पाँचजना सदस्यहरू सुस्त मनस्थितिबाट पीडित भएका र आर्थिक अभावका कारण उनीहरूलाई खाद्यान्न र लत्ता कपडाकोसमेत समस्या भएपछि इन्सेक पूवाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको समन्वयमा डायनामिक मोरङ कमिटीले कात्तिक १९ गते ६१ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

दक्षिण कोरियामा रहेका मोरङका स्थानीयद्वारा गठित डायनामिक मोरङ कमिटीद्वारा साङ्गितिक कार्यक्रम गरी सङ्कलन गरिएको उक्त रकम इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापामार्फत इटहरा गाविस-७ का तुलसीराम ढुङ्गानाका पाँचजना अपाङ्गता भएका छोराछोरीका लागि हस्तान्तरण गरिएको थियो । सोही क्रममा मोरङका स्थानीय समाजसेवी भोलेश्वर दुलालले २१ हजार रुपियाँ थप सहयोग गरेका थिए ।

सहयोग रकम हस्तान्तरण गर्दै इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयका संयोजक थापाले हरेक नागरिकको शिक्षा, स्वास्थ्य र खाद्यको अधिकार राज्यले सुनिश्चित गर्नुपर्ने भएता पनि सो अनुसार नभइरहेको अवस्थामा संघसंस्था र नागरिक समाजले यसतर्फसहयोग जुटाउनु प्रशसंनीय र उदाहरणीय कार्य भएको बताए ।


इन्दिरा भट्टराई