सुस्तश्रवण मात्र पढ्ने विद्यालयको पढाइ १० दिन देखि प्रभावित

  ०७६ भदौ ७ गते

गोरखा नगरपालिका–१० टक्सार स्थित मनकामना आवासीय सुस्तश्रवण माध्यमिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

गत साउन २८ गते विद्यालयका ५० वर्षीय कर्मचारी श्यामहरी घिमिरे मृत अवस्थामा भेटिएपछि स्थानीयले हत्या भएको भन्दै घटनाको सत्यतथ्य छानविनको माग राखी विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेका छन् ।

कर्मचारी मृत भेटिएयता साउन ३० गतेबाट पठनपाठन हुन नसकेको विद्यालयका प्रध्यानाध्यापक अनिल अम्गाइले बताए । ‘भदौ १ गतेबाट हुने परीक्षाको तयारी गरेका थियौँ । अहिलेसम्म परीक्षा समेत सञ्चालन हुन सकेको छैन ।’–अम्गाइले भने ।

पत्नी हत्याको आरोपमा गिरफ्तार भदौ ६ गते परेका गोरखा नगरपालिका–९ लक्ष्मिबजारका २१ वर्षीय याकुव परियारले श्यामहरीको पनि हत्या गरेको प्रहरीले जनाएको छ ।

‘साउन २७ गते झारफुकका लागि टक्सार गएका याकुव परिवारसँग झगडा गरेर हिँडेका रहेछन् । हिँड्दै जाँदा जङ्गलको बिचमा श्यामहरीसँग जम्काभेट भएछ ।’–एसपी ओम अधिकारीले भने–‘एक मुक्का प्रहार गरी जङ्गल बिचमा लगेर घाँटी थिचेर हत्या गरेको याकुवले स्वीकारे ।’

साउन १ गते राति १८ वर्षीया पत्नी पुजा परियारको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले याकुवलाई भदौ ६ गते गिरफ्तार गरेर अनुसन्धान गरिरहेको छ ।

घटना विवरण सार्वजनिक भइसकेकाले विद्यालय खोल्ने विषयमा छलफल थाल्ने विद्यालयका प्रअ अम्गाइले बताए । ‘स्थानीयसँग विद्यालय खोल्ने विषयमा छलफल थाल्छौँ ।’-उनले भने ।

विद्यालयमा पठनपाठन सुचारु गर्न नगरपालिकालाई सहजिकरणका लागि भन्ने पनि अम्गाइले बताए । उक्त विद्यालयमा १ सय १९ जना सुस्तश्रवण विद्यार्थी अध्ययन गर्दै आएका छन् ।


हरिराम उप्रेती