सुर्खेतको पुर्वी क्षेत्रको स्वास्थ्य चौकीमा औषधिको अभाव

  ०७४ भदौ १७ गते

गुर्भाकोट र भेरीगङ्गा नपा तथा सिम्ता गाँउपालिकामा औषधिको अभाव देखिएको छ । वर्षायाममा लाग्ने झाडापखाला लगायतका रोगका साथै समान्य ज्वरोको औषधि सिटामोलसमेत स्वास्थ्य चौकीमा नभएको साविक मालारानी गाविस तथा गुर्भाकोट नपा-२ का स्वास्थ्य चौकीका इञ्चार्ज युद्धबहादुर थापाले बताए ।

थापाका अनुसार वर्षातको समयमा सुर्खेतको पुवीक्षेत्रमा पर्ने सबै स्वास्थ्य चौकीहरूमा जीवनजलको समेत अभाव छ । उनले हालको परिवर्तित संरचना अनुरूप जिल्ला जनस्वास्थ्य वा नगरपालिका र गाँउपालिका कसले औषधि उपलब्ध गराउने भन्ने बारेमा अन्यौलता देखिएका कारण स्वास्थ्य चौकीहरूमा औषधिको अभाव भएको जानकारी दिए । 'औषधि उपलब्ध गराउन जिल्ला जनस्वास्थ्यमा जाँदा नगरपालिकामा पठाइसकेका छौँ भन्ने र नगरपालिकामा जाँदा औषधि नै आएको छैन भन्ने जबाफ पाउँछौँ ।'-थापाले भने ।

यस्तै झाडापखाला र मौसम परिवर्तनसँगै देखिने ज्वरो र टाइफाइड जस्ता रोगहरूका बिरामी बढदै गएपनि स्वास्थ्य चौकीमा औषधि नहुँदा खाली हात फर्काउनु परेको गुर्भाकोट नपा-९ स्थित सामुदायिक स्वास्थ्य केन्द्रका इञ्चार्ज नेत्रलाल खत्रीले बताए ।

यस बारेमा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख शम्भु ज्ञावलीले सुर्खेतको पुर्वीक्षेत्र लगायतका सबै स्थानमा तत्काल औषधि उपलब्ध गराउन नगर तथा गाँउपालिकाहरूसँग समन्वय गरिरहेको जानकारी दिए ।


दुर्गा थापा