सुरक्षाकर्मीद्वारा शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोगः एम्नेस्टी इन्टरनेसनल

  ०७७ चैत २५ गते

एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

एम्नेस्टी इन्टरनेसनलले चैत २५ गते सन २०२०/२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै शान्तिपूर्ण विरोध कार्यक्रममा प्रदर्शनकारी तथा अधिकारकर्मीमाथि सुरक्षाकर्मीले बल प्रयोग गरी तितरवितर गर्ने तथा हिरासतमा लिने गरेको जनाएको छ ।

एम्नेष्टिले प्रतिवेदनमा सत्तारुढ दलले द्वन्द्वकालीन अपराधमा संलग्न व्यक्तिहरूको अनुसन्धान पूर्ण नहुँदै शक्तिशाली पदहरूमा नियुक्ति गर्ने कार्य जारी राखेको पनि उल्लेख गरेको छ ।

साथै, राष्ट्रिय मानवअधिकार आयोगले २ सय ८६ जना आरोपित पीडक व्यक्तिहरूको नाम सार्वजनिक गरेको भए पनि सरकारले कारबाही प्रकृया अघि नबढेको जनाएको छ ।

साथै प्रतिवेदनमा सरकारले ‘नेपाल विशेष सेवा विधेयक’ मार्फत न्यायिक अनुमतिबिना व्यक्तिको गोप्य जानकारी लिने व्यवस्था गर्न खोजेको उल्लेख छ ।

सूचना तथा सञ्चार मन्त्रालयले प्रयाप्त कानूनी सुरक्षा बिना नै व्यक्ति तथा संस्थामाथि निगरानी गर्ने, सूचना सङ्कलन र अभिलेख गर्ने प्रावधान सहितको दूरसञ्चारसम्बन्धी विधेयक मस्यौदा तयार परेको र सो माथिल्लो सदनबाट पारित भई तल्लो सदनमा गएको समेत उल्लेख गरिएको छ ।

प्रतिवेदनमा सरकारले प्रस्ताव गरेको आमसञ्चार विधेयक, मिडिया काउन्सील विधेयक र सूचना प्रविधि विधेयकमा संशोधन नभए नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुन्टित हुने उल्लेख गरेको छ ।

कोभिड–१९ महामारीका सन्दर्भमा सरकारको आलोचना गरेको तथा गलत सूचना फैलाएको भन्दै पत्रकार लगायतका दर्जनौँ व्यक्तिहरूलाई पक्राउ गर्नुका साथै ३० वटा भन्दा धेरै वेबसाइट बन्द गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

एम्नेष्टिको प्रतिवेदनमा कोभिड–१९ का कारण बन्दाबन्दी लागू भएपछि विदेशमा अलपत्र परेका लाखौं श्रमिकहरूको अधिकार संरक्षण गर्न र स्वदेश फिर्ती प्रक्रिया सुनिश्चित गर्न सरकार असफल भएको पनि उल्लेख छ ।

प्रतिवेदनमा चितवन निकुञ्जका कर्मचारीले बिना सूचना घरमा आगजनी गर्नुका साथै हात्ती लगाई नष्ट गरी १० घर चेपाङ परिबारलाई विस्थापित गरेको घटनालाई पनि समोवेश गरिएको छ ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा