सुन चालेर दशैँको ऋण तिर्दै बोटेहरू !

  ०७६ असोज २८ गते

व्यास नपा-१० कुमालटारी बोटे गाउँका बोटेहरू दशैँमा लागेको ऋण तिर्न यतिबेला बालुवा चाल्न नदी किनारतर्फलागेका छन् । कोजाग्रत पुणिर्मासँगै दशैँ सकिएपछि उनीहरू बालुवा चाल्न नदी किनारातर्फ लागेका हुन् ।

दशैँअघि साहुँसंग ऋण लिने र दशैँपछि नदीको बालुवामा सुन खोजेर त्यही सुन सङ्कलन गरी त्यसको बिक्रीबाट आएको पैसाले दशैँलगायत चाड पर्वको ऋण तिर्ने बोटे समुदायको परम्परा जस्तै भइसकेको छ ।

Photo20191015Tanahun

यसपटक पनि दशैँ सकिए लगत्तै सो समुदायका केही व्यक्तिहरू नदी किनारतर्फ गइसकेको र केही जाने तयारीमा रहेको हर्कबहादुर बोटेले बताए ।

कालीगण्डकी, बुढीगण्डकी, मर्स्याङदी र त्रिशुली नदीको बालुवामा सुनका कणहरू भेटिने हुँदा सुन खोज्न ति नदी किनारातर्फलागेको बोटे गाउँका अगुवा जितबहादुर बोटेले बताए ।

दशैँपछि नदीमा पानीको बहाव पनि कम हुने र बालुवामा सुन खोज्न सहज हुने हुँदा उनीहरूले यही मौसमलाई नै उपर्युक्त ठान्ने जितबहादुरको भनाई छ ।

२६ घर रहेको बोटे गाउँका आधा भन्दा बढी घरका मानिसहरू घरमा ताला चाबी लगाएर बालबालिकालाई साथमै लिई हरेक वर्षनदी किनारको बालुवामा सुन खोज्न जाने गरेको जितबहादुरले बताए ।

नदीको बालुवामा सुन खोज्ने बोटेहरूको परम्परा र रहर नभएपनि घर खर्च चलाउने अन्य कुनै पनि उपाय नभएपछि यसलाई नै मुख्य पेसा मान्नु परेको स्थानीय सोमबहादुर बोटेले बताए ।

केही बोटेहरूले माछा मारेर जिविकोपार्जन गरेपनि अहिले नदीमा माछा पाइन छाडेपछि अन्य उपाय केही नभएको उनको भनाई छ ।

बालुवामा सुन खोज्दा एक घरले कुनै वर्ष २०/२५ हजार रुपियाँ बराबरको त कुनै वर्ष ४/५ हजार रुपियाँ बराबरको सुन भेट्ने र त्यसैलाई बजारमा लगेर विक्री गरी घर खर्च चलाउने जितबहादुरले बताए ।

दशैँ मानेर सुन खोज्न हिँडेका बोटेहरू एकैचोटी माघे सक्रान्ती पर्व मान्न घर फर्कने हर्कबहादुरले बताए । हर्कबहादुरका अनुसार नदी किनारमा बस्दा बालबालिका बिरामी भए र महिला सुत्केरी भए भने जुनसुकै बेला पनि घर फर्कने गर्दछन् । बालबालिका साथमै लिएर सुन खोज्न जाँदा उनीहरू विद्यालय जानबाट वञ्चित हुने गरेका छन् ।

२०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सार्दा त्यहाँका १६ घरपरिवार आदिवासी बोटेहरूलाई क्षतिपुर्ति स्वरुप प्रति घर १३ रोपनी जग्गा उपलब्ध गराई उनीहरूले राजेको नदी किनारको कुमालटारी नजिकैको बस्तीमा सारिएको थियो ।

तर, आम्दानीको अन्य श्रोत र विकल्प केही नभएपछि पुर्वजले त्यो जग्गा बेचेर घर खर्च चलाएको र कतिपय बोटेहरू भूमिहीन भएको ६५ वर्षीय सोमबहादुर बोटेले बताए ।

सुन छान्ने काममा लाग्ने समय र त्यसबाट प्राप्त हुने प्रतिफलबीच निकै अन्तर पर्न थालेकाले यसबाट गुजारा चल्न गाह्रो परेको हर्कबहादुरको भनाई छ ।

जीविकोपार्जनका लागि अपनाइएको माछा मार्ने काम पनि नदीमा विष हाल्ने, करेन्ट लगाउने र प्राकृतिक स्रोतहरूको अव्यवस्थित ठेक्कापट्टाका कारण आफूहरूको पेसा सङ्कटमा परेको उनले गुनासो गरे ।


प्रकाशचन्द्र भट्टराई