सुदूर पश्चिम प्रदेशमा आत्महत्याका घटनामा बृद्धि

  ०७६ भदौ २५ गते

सुदूरपश्चिम प्रदेशमा आत्महत्याका घटनामा बृद्धि भएको एक तथ्याङ्कले देखाएको छ । प्रदेश प्रहरी कार्यालय, दिपायलका अनुसार सुदूरपश्चिम क्षेत्रमा औसतमा दैनिक दुई जनाले आत्महत्या गर्ने गरेका छन् ।

प्रहरीले दिएको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार यस प्रदेशका नौ जिल्लामा १ हजार ४ सय १६ जनाले आत्महत्या गरेका छन् ।

प्रदेश प्रहरी कार्यालय, दिपायलका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ४ सय ३३ जना, आर्थिक वर्ष २०७४/७५ मा ४ सय ८० जना, आर्थिक वर्ष २०७५/७६ मा ५ सय ३ जनाले आत्महत्या गरेका छन् ।

पहाडी जिल्लाको तुलनामा तराईमा आत्महत्या गर्नेको सङ्ख्या तुलनात्मक रूपले बढि देखिएको प्रहरीको भनाई छ । तीन वर्षको अवधिमा आत्महत्या गरेका १ हजार ४ सय १६ जनामध्ये सबैभन्दा बढि कैलालीमा ५ सय ६४ जना रहेका छन् भने कञ्चनपुरमा ४ सय ५७ जनाले आत्महत्या गरेका छन् ।

तीन वर्ष अवधिमा यस प्रदेशको बैतडीमा ९०, डडेल्धुरामा ७०, अछाममा ६६, दार्चुलामा ५५, डोटीमा ५५, बझाङमा ३० र बाजुरामा ३० जनाले आत्महत्या गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी दधिराम न्यौपानेले दैनिक आवश्यकता बढ्दै गएपनि समाजमा त्यो अनुसारको आर्थिक हैसियत बनाउन नसकेका कारण पनि कतिपयले आत्महत्या रोजेको भेटिएको बताए ।

उनले विवाहत्तोर सम्बन्ध बिग्रिएर, सामाजिक सञ्जालको गलत प्रयोग, घरेलु हिंसा र दीर्घ रोग लागेमा उपचार गर्न नसक्नु पनि आत्महत्याका कारकतत्व रहेको बताए ।

मानसिक रोग विशेषज्ञ डाक्टर सुरज तिवारीले डिप्रेसन जस्ता मनोरोग, दुव्र्यशनीका कारण भविष्यप्रतिको उत्साह नभएपछि मानिसले आत्महत्या रोज्ने गरेको बताए ।

उनले भने–‘मानिसले मनोभावलाई नियन्त्रण गर्न नसकेर, एक्लो जीवन बाँचिरहेको भए भावनात्मक सहारा नभएको अवस्थामा आत्महत्या गर्ने गरेको देखिन्छ ।’ मनोरोगको पहिचान गरी उपचार गर्न सके आत्महत्याका घटनामा कमी आउने तिवारीको भनाई छ ।

मुलुकी अपराध संहिताले आत्महत्या दुरूत्साहन गर्नेलाई दण्ड सजायको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८५ मा आत्महत्या गर्न दुरूत्साहन गर्न नहुने व्यवस्था गरेको छ ।

सोही दफाको उपदफा २ मा उक्त कसुर गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रूपियाँसम्म जरिबाना हुने उल्लेख गरिएको छ ।

पछिल्लो एक वर्षको अवधिमा मात्र सुदूरपश्चिम प्रदेशमा आत्महत्या दुरूत्साहनसम्बन्धी ३६ ओटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

यसैगरी धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीले नेपाल प्रहरीको तथ्याङ्कमा नेपालमा आर्थिक वर्ष २०७५/०७६ मा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेको उल्लेख गरेका छन् ।

यो तथ्याङ्क अनुसार हरेक दिन सरदर १५ जनाले आत्महत्या गरेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा आत्महत्याको दर ८ दशमलब २२ प्रतिशतले बढेको प्रहरीले जनाएको छ ।

धादिङ जिल्लाको पछिल्लो तथ्याङ्क हेर्ने हो भने आत्महत्याको दर बढ्दो रहेको छ । यसरी आत्महत्या गर्नेमा पनि विवाहित दम्पति नै बढी रहेको जिल्ला प्रहरी कार्यालय धादिङको तथ्याङकले देखाएको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा ६३ जना, २०७३/०७४ मा ७५ जना, २०७४/०७५ मा ९२ जना र २०७५/०७६ मा ९४ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा झुण्डिएर २ सय १९ जनाले, विष सेवन गरी १ सय ३ जनाले र अन्य कारणले दुई जनाले आत्महत्या गरेको पाइएको छ । आत्महत्या दुरूत्साहनमा धादिङमा चार ओटा मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।

महिलाहरूमा घरेलु हिंसा थेग्न नसकेपछि आत्महत्या गर्ने र पुरूषहरूले डिप्रेसनको कारणले आत्महत्या गर्ने गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार वैदवारले बताए ।


भुपेन्द्र विष्ट