सुत्न र शौचालय जान समस्या भएको कैदीबन्दीको गुनासो

  ०७५ माघ २९ गते

जिल्ला कारागार अर्घाखाँचीको पुरूष कक्षमा एउटा मात्र कोठा र एउटा मात्रैै शौचालय हुँदा सुत्न र शौचालय जान समस्या भएको कैदीबन्दीहरूले गुनासो गरेका छन् ।
२५ जनाको क्षमता भएको जिल्ला कारागारमा ३९ जना कैदीबन्दी छन् । ३९ जना मध्ये चार जना महिला छन् । ३५ जना पुरूषहरूको लागि एउटा मात्रै कोठा छ भने शौचालय पनि एउटा मात्रै छ ।
‘कैदीबन्दीलाई सुत्न त समस्या छँदैछ । शौचालयको प्रयोग गर्न पनि निकै समस्या छ ।’–कैदी यमबहादुर सिरिसले भने ।
‘३५ जना कैदीबन्दीको लागि एउटा मात्रै शौचालय छ । बिहान लाइन लागेर शौचालय जानुपर्ने बाध्यता छ यसले गर्दा दिसापिसाब समेत रोकेर बस्नुपर्छ ।’–यमबहादुर भने । यसले स्वास्थ्यमा असर गर्छ भन्ने थाहा भए पनि बाध्यता भएको उनले बताए  ।
कैदी ठडबहादुर भाट क्षेत्रीले बिहान सबेरै उठनु पर्छ ढिला भयो भने ८÷९ बजेसम्म नै शौचालय कुरेर बस्नुपर्ने बाध्यता रहेको बताए । उनले गर्मी समयमा धेरै गाह्रो हुने बताए ।
कारागरमा सबै हिसावले योग्य कोठा एउटा मात्रै छ । त्यहाँ थप शौचालय बनाउने ठाउँ नभएको र दुई कोठाको भवन निमार्णधीन रहेकाले केही समयमा नै समस्या समाधान हुने कारागार प्रमुख कृष्णप्रसाद आचार्यले बताए ।


नारायण भुसाल