सुत्केरी महिलाले सामाजिक सुरक्षा भत्ता पाएनन्

  ०७३ असोज ९ गते

नेपाल सरकारले सुत्केरी महिलालाई दिने गरेको सामाजिक सुरक्षा भत्ता फोइमहादेव गाविसका महिलाहरूले नपाएको गुनासो गरेका छन् ।

फोइमहादेव गाविस–४ की २५ वर्षीया कमला कटुवालले गाउँमा रहेको बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी भएपनि सो बापत पाउने १ हजार ५ सय रुपियाँ सुत्केरी भत्ता र अस्पतालमा नियमित गर्भवति अवस्था चेकजाँच गराएवापत थप चार सय रुपियाँ नपाएको बताइन् ।

जिल्ला स्वास्थ्य कार्यालयबाट सुत्केरी अवस्थामा दिनुपर्ने रकम निकासा भएको भनिएपनि कटुवालको हातमा त्यो रकम परेको छैन । ०७२ चैत महिनादेखि चालु भएको बर्थिङ सेन्टरमा सुरू भएको महिनामा सुरक्षित सुत्केरी गराएका ३५ जना महिलामा कसैले पनि रकम पाउन सकेका छैनन् ।

सरकारले तराईका जिल्लामा १ हजार रुपियाँ र हिमाली जिल्लामा १ हजार ५ सय रुपियाँ गर्भवति महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनका लागि प्रोत्साहन स्वरूप उपलब्ध गराउने सरकारी नीति छ । चार पटक नियमित स्वास्थ्य परीक्षण गरेवापतको ४ सय गरी १ हजार ९ सय रुपियाँ उपलब्ध गराउनुपर्ने भएपनि सो रकम नपाएको यहाँका महिलाहरूले गुनासो गरेका छन् ।

फोइमहादेव गाविसका कसैले पनि प्राहोत्साहन भत्ता र न्यानो झोला सुत्केरी महिलाले पाएका छैनन् । ०७३ साउन महिनामा स्वास्थ्य संस्थामा नै सुत्केरी भएकी फोइमहादेव गाविस–३ की नन्दा महताराले पनि सुत्केरी भत्ता र स्वास्थ्य संस्थामा नियमित जाँच गराए वापतको रकम र न्यानो झोला नपाएको बताइन् । उनलाई सुत्केरी भत्ता, न्यानो झोला र प्रोत्साहन भत्ता बारे थाहा भएपनि आफूलाई कसले दिने हो त्यस बारेमा थाहा नभएको बताइन् । ‘स्वास्थ्य संस्थामा सुत्केरी गराए वापत पैसा पाउँछन् भन्थे ।’–उनले भनिन्,—‘तर, मैले आजसम्म पाएकी छैन् ।’–उनले भनिन् ।

स्वास्थ्य संस्थाहरूमा जाने आमा सुरक्षा कार्यक्रमको रकम जिल्ला स्वास्थ्य कार्यालयबाट निकासा भएको गाउँका महिलाहरूलाई उनकै हस्ताक्षरमा दिने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.कौशल अलिले बताए । ‘हामीले गत वर्षको सबै रकम स्वास्थ्य चौकीमा पठाएका छौं । कसैको बाँकी राखेका छेनौं ।’–उनले भने–‘सम्बन्धित व्यक्तिको हस्ताक्षर गरेर दिने गरेका छौं ।’ जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा. अलिले यस्तो दावी गरेपनि स्थानीय महिलाले आमा सुरक्षा कार्यक्रमको सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् ।

गत वर्षको चैत महिनामा स्वास्थ्य चौकी फोइमहादेवमा सुत्केरी भएकी जौकला बुढाले आफूले हस्ताक्षर गरेर सुत्केरी भत्ता नबुझेको र आफूलाई यसबारे कुनै थाहा नभएको बताइन् । ‘आफूले बिरामी पूर्जामा हस्ताक्षर गरेको थिएँ ।’ उनले भनिन्,—‘प्रोत्साहन भत्ता पाउने कागजमा सही गरेको थाहा छैन ।’ तर, हिसाबमा उनले रकम बुझेको देखिन्छ ।

फोइमहादेव स्वास्थ्य चौकीमा कार्यरत अनमी नबिन्दा शाहीले आफू भर्खर मात्र स्वास्थ्य चौकीमा आएको र आफूलाई आमा सुरक्षा कार्यक्रमको विषयमा कुनै जानकारी नभएको बताइन् । यसै वर्षको साउन महिनामा बर्थिङ् सेन्टरमा सुत्केरी भएका चार जना महिलाहरूको सुत्केरी भत्ता निकासाका लागि जिल्ला स्वास्थ्य कार्यालयमा सिफारिस गरेको अहेव शाहीले बताइन् । सरकारले मातृ मृत्युदर घटाउन ०६५ सालदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।


कालीवहादुर मल्ल