सुत्केरी प्रोत्साहन रकम नपाउँदा सेवाग्राही मार्कामा

  ०७६ फागुन ८ गते

गढिमाई नपा–२ मा रहेको समनपुर स्वास्थ्य चौकीमा यस आर्थिक वर्ष ०७६/०७७ मा सुत्केरी भएका महिलाहरुले यातायात प्रोत्साहन वापतको १ हजार रुपियाँ रकम पाएका छैनन् ।

यस स्वास्थ्य चौकीमा नेपाल सरकारले प्रत्येक सुत्केरी महिलाले सरकारी अस्पतालमा सुत्केरी गराउँदा प्रोत्साहन वापत यातायातको लागि पाउनु पर्ने १ हजार रुपियाँ र प्रति सुत्केरी वापत स्वास्थ्य चौकीले पाउनुपर्ने रकम १ हजार रुपियाँ पाएका छैनन् । यस वर्ष ३ सय जना सुत्केरी हुन आएका महिलाहरूमा एक जनाले पनि उक्त रकम पाएका छैनन् ।

२०७३ सालमा सञ्चालन भएको वर्थिङ सेन्टरमा गढिमाई नगरपालिका लगायत छिमेकी नगरपालिकाका केहि वडाबाट सेवाग्राहीहरू उपचार गर्न आउने गरेको निमित्त कार्यालय प्रमुख कृष्ण कुमार यादवले बताउनु भएको छ ।

त्यस्तै स्वास्थ्य चौकी प्रमुख हाल काजमा गढिमाई नगरपालिकाको प्रशासन फाँटमा कार्यरत विनोद महतोका अनुसार उहाँले पटक पटक नगरपालिकामा ताकेता गर्दा पनि आफ्नो समस्याको सुनुवाई नभएको बताउनु भएको छ । नेपाल सरकारले निःशुल्क भनी तोकेको ४७ ओटा औषधी मध्ये यस आ.व मा एउटा पनि औषधि उपलब्ध नभएको, वर्थिङ सेन्टरमा कम्तीमा पनि पाँच सेट सुत्केरी गर्ने उपकरण उपलब्ध हुनुपर्नेमा हाल दुई ओटा मात्र रहेको र एउटा समय समयमा विग्रिनाले एक मात्रले काम चलाउनु पर्ने बाध्यता रहेको चौकी प्रमुख महतोले बताउनु भएको छ ।

गढिमाई —४ की चार महिनाका सुत्केरी २५ वर्षीया चन्द्रकला साहका अनुसार सुत्केरी भए वापत पाउनुपर्ने रकम हाल सम्म उहाँले पाउनु भएको छैन ।

दलित, जेष्ठ नागरीक र अपाङ्गको बिमा हालसम्म यस वर्षमा एक जनाको पनि नबनको बताउँदै निःशुल्क पाउने उपचारबाट बञ्चित भएको गढिमाई–२ बस्ने अपाङ्गता भएका ५५ वर्षीय वैधनाथ साहले बताउनु भएको छ ।

यस विषयमा गढिमाई नगरपालिकाका प्रशासकिय अधिकृत नागेन्द्र यादव सँग कुराकानी गर्दा सुत्केरी प्रोत्साहन र आवश्यक सामाग्री खरिदका लागि नगरपालिका तयार रहेको र अब छिट्टै नै उपलब्ध गराउने बताउनु भएको छ ।


कोपिला तिमल्सिना