सुत्केरीको मृत्युपछि अस्पतालमा तोडफोड

  ०७६ जेठ ३२ गते

सुत्केरी महिलाकोे मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा तोडफोड गरेका छन् । अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी २६ वर्षीया पत्नी गीता ताम्राकारको सुत्केरी भएको १४ दिनसम्म पनि ‘ब्लडिङ’ नरोकिएपछि मृत्यु भएकोे हो ।

शल्यक्रिया गरेर १४ दिन अगाडि बच्चा पाएकी उनी नौ दिनसम्म वेडभर्ना गरिएको मृतकका पति धर्मराज ताम्राकारले बताए ।

लगातार ‘ब्लडिङ’ भएपछि जेठ ३१ गते डडेल्धुरा अस्पताल पुगेकी उनलाई अस्पतालले आठ प्वाइन्ट रगत दिएपनि बचाउन नसकेको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जीतेन्द्र कँडेलले बताए ।

उनका अनुसार अवस्था गम्भीर भएपछि आठ प्वाइन्ट रगत दिएर रिफर गर्न हेलिकोप्टरको समेत अस्पतालले व्यवस्था गरिएको थियो ।

शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको पीडित पक्षको आरोप छ ।

उनीहरूले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारवाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै अस्पताल तोडफोड गरेका हुन् ।

प्रहरी र पीडित पक्षबीच केहीबेर झडप समेत भएको थियो । उनीहरूले बिरामीको अवस्था गम्भीर हुँदासम्म अस्पताल प्रशासनले परिवारका सदस्यलाई जानकारी नदिएको र चिकित्सकहरूले रिफर गर्न नमानेको आरोप लगाएका छन् ।


भूपेन्द्र विष्ट