सिलिण्डर बम विष्फोटबाट एक घाइते

  ०७४ वैशाख २८ गते 

हेटौँडा उपमहानगरपालिका-१६ मा वैशाख २७ गते राति अज्ञात समूहले गराएको सिलिण्डर बम विष्फोटबाट एक जना घाइते भएका छन् ।

एमालेका वडाध्यक्ष उम्मेदवार गोविन्द दाहालको घर नजिकै राति पौने १० बजे अज्ञात समूहले सिलिण्डर बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

विष्फोटबाट ३४ वर्षीय श्यामप्रसाद दाहाल घाइते भएका छन् । उनको दुवै गोडामा गम्भीर चोट लागेको छ । उपचारको निम्ति राति नै काठमाडौँ लगिएको पीडित पक्षले जनाएको छ ।

न्याय सेवाका अधिकृतसमेत रहेका दाहाल वैशाख ३१ गतेको निर्वाचनमा मतदान गर्न घर आएका थिए । घर छेउमा राति आगो बलेको देखेर आगो निभाउन जानेक्रममा सिलिण्डर बम पड्केको थियो । अज्ञात समूहले आगो बालेर सिलिण्डर बम पडकाएका थिए ।

उम्मेदवार र मतदाताहरूलाई त्रसित बनाउन बम पडकाएको स्थानीयबासीकेा आरोप छ । प्रहरीले अनुसन्धानका लागि राति नै एक जनालाई गिरफ्तार गरेको जनाएको छ । विभिन्न कोणवाट बम विष्फोट घटनाको अध्ययन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी बसन्तकुमार लामाले बताए ।


प्रताप विष्ट