सिन्धुली अस्पतालमा एक सातादेखि शल्यक्रियासहितका अत्यावश्यक सेवाहरू अवरूद्ध

  ०७५ वैशाख ६ गते

सिन्धुली जिल्ला अस्पतालमा अस्पताल विकास समितिका अध्यक्ष सुवास कार्की र मेडिकल सुपरिटेण्डेण्ट सुमित्रा गौतमबिचको विवादका कारण अस्पतालका विशेषज्ञ सहितका महत्वपूर्ण सेवाहरू एक सातादेखि बन्द भएका छन् ।

अध्यक्षले अस्पतालको प्रशासन तथा व्यवस्थापनमा हस्तक्षेप गर्न थालेपछि जिल्ला अस्पतालमा सञ्चालन हुँदै आएका शल्यक्रियासहित सम्पूर्णसहितका अत्यावश्यक सेवाहरू अवरूद्ध भएका हुन् ।

सिन्धुली अस्पताल विकास समितिका अध्यक्षका गतिविधि ऐन विपरीत भएकाले अस्पतालले दिँदै आएको सेवा अवरूद्ध हुन पुगेको डक्टरहरूले आरोप लगाएका छन् ।

विगत केही दिनदेखि रेडियोलोजिष्ट सेवा, अप्रेसनसहितको प्रसूति सेवा, जनरल सर्जरीलगायतका विशेषज्ञ सेवाहरू अस्पतालमा कार्यरत डक्टरहरूले अवरूद्ध गरेका हुन् ।

अस्पाताल विकास समितिका अध्यक्ष कार्कीले स्वास्थ्य ऐन विपरीत अस्पतालको खाता सञ्चालनका लागि राष्ट्रिय बाणिज्य बैङ्क सिन्धुली शाखालाई लिखित पत्र पठाएको, पुसदेखि सञ्चालन गर्न लागिएको एनसियु सेवा सञ्चालन गर्न नदिएको, डक्टर गौतमलाई क्षेत्राधिकार भित्र नपर्ने भन्दै रेडियोलोजिष्ट सेवा सञ्चालनमा रोक लगाएको र डक्टरहरूलाई सेवा सञ्चालनमा अवरोध गर्दै दबाव दिँदै आएको भन्दै जिल्ला अस्पतालका डक्टरहरूले सबै सेवा बन्द गराएका छन् ।

कार्की अस्पताल विकास समितिको अध्यक्षमा ०७४ जेठ २४ गते नियुक्त भएदेखि नै मेडिकल सुपरिटेण्डेण्ट र अन्य कर्मचारीहरूलाई अनावश्यक दबाव दिँदै आएको कर्मचारीहरूले समेत बताउँदै आएका थिए । छिट्टै समस्याको समाधान गरिने जनाइएको छ ।


बिमला पाण्डे