सिन्धुली अस्पतालमा अत्यावश्यक औषधि अभाव

  ०७६ मङ्सिर १६ गते

सिन्धुली अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ । बिरामीलाई दिइने निःशुल्क औषधिको समेत अभाव भएको सिन्धुली अस्पतालले जनाएको छ ।

०७६ वैशाखदेखि स्वास्थ्यकर्मीको अभाव झेलेको अस्पतालमा औषधि समेत अभाव हुँदा बिरामीको सङ्ख्या समेत आधा घटेको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार पहिले पहिले ४ सयको हाराहारीमा हुने बिरामी अहिले डाक्टर र औषधिको अभाव भएपछि बढीमा २ सय मात्र आउने गरेका छन् ।

अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट नहँुदा आर्थिक कारोबार बन्द भएको र समयमा औषधि खरिद हुन  नसक्दा बिरामीहरू समेत मर्कामा परेका छन् ।

अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. सुमित्रा गौतम समायोजनामा परी भक्तपुर गएको र सिन्धुलीमा आउने मेडिकल सुपरिटेण्डेण्ट डा. लक्ष्मण खड्का अस्पतालमा नआएका कारण अस्पताल सञ्चालनमा समेत समस्या भएको पोखरेलले बताउनुभएको छ ।

सिन्धुली अस्पतालमा ३० लाखको औषधि उधारो किनिसकिएको तर अब विक्रेताले समेत औषधि दिन छोडेपछि समस्या भएको उहाँले बताउनुभएको छ ।

‘५ लाख रुपियाँ व्यक्तिगत ऋण खोजेर औषधि विक्रेतालाई तिरेको छु । औषधिको पैसा खातामा छ । चेकमा हस्ताक्षर गर्ने व्यक्ति नहुँदा अस्पतालमा औषधि अभाव भएको छ ।’–उहाँले भन्नुभयो ।

कर्मचारी समायोजनले डाक्टरको अभाव भएको सिन्धुली अस्पतालमा औषधि समेत अभाव भएपछि अस्पताल नै सञ्चालन गर्न समस्या भएको पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार हाल अस्पतालमा निःशुल्क पाइने स्लाइन, पारासिटामोल, एमोक्सासिलिन, मेट्रोनिडाजोललगायतका करिब ३० प्रकारका औषधि अभाव भएको छ ।

कर्मचारी समायोजनपछि स्वास्थ्य विभाग, प्रदेश सरकारले पठाएका स्वास्थ्यकर्मी अस्पतालमा नआउँदा समस्या भएको पोखरेलले बताए ।


बिमला पाण्डे