सिन्धुली अस्पतालका डाक्टरहरू आन्दोलनमा उत्रिएपछि सेवा प्रभावित

  ०७३ भदौ १० गते

जिल्ला अस्पताल सिन्धुलीका डाक्टरहरू आन्दोलनमा उत्रिएपछि जिल्ला अस्पतालको सेवा प्रभावित बनेको छ ।

दैनिक २ सयको हाराहारीमा बिरामी आउने यो अस्पतालका डाक्टरहरू दुर्गम भत्ता पाउनुपर्ने, ल्याव र एक्सरेबाट आएको रकमको २५ प्रतिशत रकमबाट आउने कमिशन पाउनुपर्ने लगायतका माग राखी आन्दोलनमा उत्रिएका हुन् ।

जिल्ला अस्पतालमा कार्यरत सात जना मेडिकल अधिकृतहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले भदौ ९ गते सूचना पार्टीमा सूचना टाँस गरी आपतकालीन सेवा बाहेकका अन्य सेवामा काम नगर्ने जनाएका थिए ।

डाक्टरहरूले राख्दै आएका माग जायज नभएको अस्पताल प्रशासनले जनाएको छ । सिन्धुली जिल्लालाई नेपाल सरकारले दुर्गम जिल्लाको सूचीबाट करिव ५ वर्षअगाडि नै हटाई सकेको र ल्याव, एक्सरेको कमिशन उक्त शाखाका कर्मचारीले मात्र पाउने व्यवस्था रहेको हुँदा माग जायज नभएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

अस्पतालको ल्यावबाट मासिक ४ लाख रुपियाँसम्म आम्दानी हुने गरेको छ भने एक्सरेबाट मासिक २ देखि साँढे २ लाख रुपियाँसम्म आम्दानी हुने गरेको छ ।


बिमला पाण्डे