सिकलसेल एनिमियाको औषधि अभाव, भारतबाट खरिद गरी सेवन गर्नुपरेको बिरामीको गुनासो

  ०७६ जेठ २२ गते

नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमा सिकलसेल एनिमियाको औषधि अभावका कारण बिरामी मर्कामा परेका छन् ।

निशुल्क भनिएको सिकलसेल एनिमिया रोगको औषधि अस्पतालमा उपलब्ध नहुँदा भारतीय बजारबाट खरिद गरी सेवन गर्नु पर्ने बाध्यता रहेको बिरामीहरूले गुनासो गरेका छन् ।

अस्पतालको सामाजिक सेवा एकाईमा सिकलसेल एनिमियाका बिरामीहरूले विपन्न नागरिक उपचार निर्देशिका अनुसार १ लाख रुपियाँ बराबरको सेवा भने पाइरहेका छन् ।

०७५ चैत महिनादेखि औषधिको अभाव हुँदा भारतबाट खरिद गरी खान बाध्य भएका हुन् । हाल सिकलसेल एनिमियामा प्रयोग गरिने ‘हाइड्रिया’ नामक औषधि अभाव छ ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क हुनेछ भन्ने व्यवस्था छ ।

बैजानाथ गाउँपालिका–३ का २१ वर्षीय आषिक थारूले केही औषधि बाहिरबाट किन्नुपर्ने र दिनहुँ जसो २÷३ सय रुपियाँ औषधिमा खर्च हुने गरेको बताए ।

विगत ३ वर्षदेखि सिकलसेल रोगबाट पीडित बर्दिया जिल्ला मधुवन नपा–२ की ४८ वर्षीया रामप्यारी थारु ०७६ जेठ १६ गतेदेखि भेरी प्रादेशिक अस्पतालमा उपचारको लागि भर्ना भएकी छन् ।

रामप्यारीका अनुसार अहिलेसम्म १० हजार रुपियाँ औषधि किन्न खर्च भएको र आधा जति औषधि रुपैडियाबाट किन्नु परेको बताइन्  ।

जेठ १८ गते उपचारका लागि अस्पताल भर्ना भएकी बर्दिया जिल्ला राजापुर नपा–१० की ३१ वर्षीया शान्ती थारु निशुल्क भनिएको केही औषधि किन्न बाहिर जानुपरेको र अहिलेसम्म ८ हजार रुपियाँ औषधिमा खर्च भएको बताइन् ।

भेरी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले हाल अस्पतालको सामाजिक सेवा एकाईमा ६ सय ६५ जना सिकलसेल एनिमियाको बिरामीहरूले सेवा लिइरहेको जानकारी दिए । औषधि अभावका विषयमा आफूलाई जानकारी नरहेको बताए ।

त्यसैगरी भेरी प्रादेशिक अस्पतालका प्रमुख रुपानन्द अधिकारीले हाइड्रिक्सिल युरिया नामक औषधिको बाँके मात्र नभई दाङ, बुटवलमा पनि अभाव भएका कारण औषधि धनगढीबाट ल्याउन लागेको बताए ।

उनले भेरी प्रादेशिक अस्पतालमा फागुन महिनादेखि सिकलसेल एनिमिया रोगको लागि जाँच गर्ने मेशिन एचबी इलोक्ट्रोफोरेसिस मर्मत सम्भार नहुँदा सिकलसेल एनिमिया चेक जाँच गर्न समस्या भएको र मेसिन मर्मतको लागि काठमाडौँ लगिएको बताए ।


स्मृति देवकोटा