सासूबुहारीको हत्या घटनाका आरोपित गिरफ्तार

  ०७३ चैत १८ गते

दुई साता अघि मोरङको कटहरी-१ मा सासूबुहारीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले विराटनगर उमनपा-१२ का २६ वर्षीय विष्णुकुमार डाँगालाई एक थान पेस्तोलसहित चैत १७ गते गिरफ्तार गरेको छ ।

चैत ४ गते ४४ वर्षीया दिपा निरौला (डाँगा) र २२ वर्षीया अस्मिता भट्टराई (डाँगा)लाई गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्दिपराज भण्डारीले जानकारी दिए । गिरफ्तार भएका विष्णुकुमार दिपाका आफ्नै भतिज भएको पनि प्रहरीले जनाएको छ । हत्याको कारणबारे प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।

मोरङको कर्सियामा धानचामलको खरिद व्यपार गर्ने ६० वर्षीय इन्द्रचन डाँगाले २ वर्ष ६ महिना पहिला सोही ठाउँकी दिपा निरौलासँग अन्तरजातीय विवहा गरेका थिए । उनका ३० वर्षीय छोरा राम डाँगाले पनि एक वर्षपहिले काठमाडौँ पेप्सिकोला घर भइ विराटनगर बस्दै आएकी अस्मिता भट्टराईसँग मारवाडी सामुदाय र हिन्दु संस्कार अनुसार विवाह गरेका थिए ।


इन्दिरा भट्टराई