सार्कस्तरीय मानव अधिकार संयन्त्र स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

  ०७७ असोज ७ गते

सार्कस्तरीय मानव अधिकार संयन्त्र स्थापनाको माग गर्दै फोरम एशिया र इन्सेकलगायत फोरम एशियाका सदस्य संस्थाहरूले विगतदेखि गर्दै आएको मागलाई नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसमक्ष असोज ७ गते ज्ञापनपत्रमार्फत दोहोर्‍याएका छन् ।

‘दक्षिण एशियाली मानव अधिकार संयन्त्र स्थापनाका लागि लामो समयदेखिको हाम्रो माग दोहोर्‍याउन चाहन्छौँ । हामीलाई विश्वास छ कि यस्तो संयन्त्रले दक्षिण एशियाली मुलुकहरूले सामना गरिरहेका समस्यालाई सामूहिक रूपमा हल गर्न सहज हुनेछ ।’– फोरम एशियाका तर्फबाट बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।
photo20200923kathmandu
ज्ञापनपत्र बुझ्दै नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले ज्ञापनपत्रमा उठाइएका विषयलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएको र आवश्यक पहल गर्ने बताउनु भयो ।

मन्त्री ज्ञवालीले मानव अधिकारको बहालीका लागि सरकार र नागरिक समाजको सहकार्यको अपरिहार्यता रहेको उल्लेख गर्दै यस्तो संयन्त्रले सरकारका काममा सहयोग पुग्ने बताउनु भयो ।

फोरम एशियाका कोषाध्यक्ष डा. सुरेशकुमार ढकालले सार्कमा रहेका नेपालसहित सबै मुलुकमा क्षेत्रीयस्तरको मानव अधिकार संयन्त्र गठनको माग गर्दै यसैगरी ज्ञापनपत्र बुझाएको बताउनु भयो ।

सार्कजस्तै अन्य क्षेत्रीय स्तरका सञ्जालहरूमा मानव अधिकारका संयन्त्र पनि भएको दृष्टान्त देखाउँदै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले सार्कस्तरीय मानव अधिकार संयन्त्रको आवश्यकता रहेको बताउनु भयो ।

इन्सेकले विगत लामो समयदेखि सार्कस्तरीय मानव अधिकार संयन्त्र गठनका लागि माग गर्दै आएको स्मरण गराउनु भयो

‘कतिपय आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका मुद्दाको सम्बोधनका लागि पनि साझा पहल आवश्यक छ । यस्ता मुद्दालाई सामना गर्न क्षेत्रीय संयन्त्रको खाँचो छ ।’–उहाँले भन्नु भयो ।


अनलाइन डेस्क