सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ १२ गते

१८ वर्षीया दुई जना युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले बाणगङ्गा नपा–१० घरभई रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान २९ वर्षीय विशाल शर्मा, बाणगंगा नपा–१० कै २८ वर्षीय गुरुचरण चौधरीलाई माघ ९ गते गिरफ्तार गरेको छ ।

घटनामा सङ्लग्न रहेका बाणगंगा नपा–१० का २२ वर्षीय बिमल गिरी र २८ वर्षीय पुरन थापा फरार रहेको प्रहरीले जनाएको छ ।

पीडितलाई आरोपितहरू  कात्तिक २३ गते कपिलवस्तुबाट घर फर्कने क्रममा कञ्चन गाउँपालिका–५ दक्षिण भैसाही भन्ने स्थानमा सामूहिक बलात्कार गरेको र धम्की दिएर कसैलाई नभन्न दवाव दिएको भन्दै पीडितपक्षले माघ ९ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएका थिए ।

आरोपितहरूले बलात्कार पश्चात पीडितको नग्न फोटो र भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।

पीडितले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर कमल परियारले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ९ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

यसैगरी, ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३० वर्षीय बुवालाई  माघ ९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले अन्तिम पटक कात्तिक १ गते बलात्कार गरेको भन्दै पीडितपक्षले माघ ९ गते  इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका छन् ।

पीडितकी आमाले दोस्रो विवाह गरेर गएको र बाबुसँग बस्दै आएकी बालिका घटनापश्चात टोलाउने गरेपछि सोधपुछका क्रममा घटना बाहिर आएको इलाका प्रहरी कार्यालय बुटवलका डिएपी प्रतित सिंह राठोरले बताउनु भयो । पीडितलाई बुटवलस्थित सुरक्षित आवास गृहमा राखिएको डिएसपी राठोरले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।


रीमा बिसी