सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

  ०७६ जेठ ३० गते

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–४ का ३० वर्षीय मो. इद्रिस र १५ वर्षीय एक बालकलाई जेठ २९ गते गिरफ्तार गरेको छ ।

जेठ २६ गते राति शौच गर्न घरबाट निक्लिएकी पीडित बालिकालाई मुख थुनी नियन्त्रणमा लिएर डरत्रास देखाई ५ सय मिटर टाढा पुर्‍याई बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् ।

एउटै ट्रयाक्टरमा मजदुरी गर्ने आरोपितहरूमध्ये इद्रिसले बलात्कार गरेको र बालकले गोडा समातेको पीडितले बताइन् ।

शौचालय गएकी छोरी कोठामा नफर्केपछि खोज्दै गएका पीडितका बुबालाई देखेपछि आरोपितहरू भागेका थिए ।

पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा जेठ २७ गते दिएको उजुरी दर्ता गरी आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी मकेन्द्रकुमार मिश्राले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जेठ २७ गते नै गरिएको छ ।


मनोहरकुमार पोखरेल